ओलीको चियाकपमा आँधी

प्रधानमन्त्री केपी शर्मा ओलीको चियाकपमा आएको आँधी शनिबारबाट मत्थर भएको छ । अब केही समयका निम्ति उनी सबै संकटबाट मुक्त भएका छन् । पछिल्लो कालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति बुझेका मानिसका निम्ति त्यसभित्र आउने विवादलाई चियाकपमा आएको आँधीभन्दा बढी मान्दैनन् । यसको कारण हो– ओली एक्लै हुँदा पनि यसलाई पार लाउन जानेका छन् । त्यस्तो समस्या पार लाउने जुक्ति उनलाई थाहा पनि छ । समस्या जति ठूला देखिन्छन्, ती यथार्थमा त्यस्ता छैनन् पनि ।

नेकपाभित्र समस्याका ठूला पहाड छैनन् । जे÷जस्ता समस्या देखिन्छन्, तिनको समाधान पनि कठिन छैन । स्वर सम्राट नारायणगोपालले गाएको गीत नेकपाभित्र ठीक ढंगले लागु हुन्छ– ‘केही मीठा वात गर ।’ बस्, प्रधानमन्त्री ओलीले बेलाबेलामा केही मीठो वात गर्नुप-यो ।

यसपटक नेकपामा विवाद प्रधानमन्त्री ओलीले वैशाख ८ गते दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट लागु गराएपछि सुरु हुन्छ । राष्ट्रपतिबाट जारी अध्यादेश पाँचौँ दिनमा खारेज हुन्छ । विवाद जारी रहन्छ । त्यो विवादको अन्त्य हुन्छ २० वैशाखको अपराह्नदेखि । अध्यादेशले ल्याएको नेकपाभित्र ‘तुफान’ १३ औँ दिनमा अन्त्य हुन्छ । नेकपामा यसपटकको समस्या समाधानका दुई पक्ष छन्– एक, प्रधानमन्त्री ओलीको आत्मालोचना । दुई, नेता बामदेव गौतम ‘उपयुक्त समय’ मा सांसद बन्ने ।

फेरि एकपटक प्रधानमन्त्री ओलीले व्यवस्थापकीय क्षमता देखाएका छन् । ओली जत्तिका नेताका निम्ति नेकपा सचिवालयमा देखिएको समस्या समाधानमा धेरै गाह्रो पनि छैन । के गर्दा समस्या देखिन्छ र के गर्दा त्यो थन्किन्छ भन्ने उनलाई राम्रो थाहा छ । आत्मालोचना भनेको कम्युनिस्ट पार्टीभित्र दाल÷भात खाएजस्तो हो । शक्ति पुग्दा लागेको गर्ने र नपुगेका बेलामा आत्मालोचना भनेर उम्किने भइरहन्छ ।

नेकपाका नौ जना केन्द्रीय सचिवालय सदस्यलाई व्यवस्थापन गर्न सक्दा अन्य कुनै ठूलो समस्या उनलाई अबका बाँकी २ वर्ष आठ महिनामा आउने छैन । समस्या जब केन्द्रीय सचिवालयभन्दा तल जान्छ, त्यतिबेला मात्र व्यवस्थापनमा अलि बढी समय खर्च गर्नुपर्ने हुन्छ । त्यो स्थितिमा पनि समय बढी लाग्ने हो, त्यसका निम्ति पनि धेरै मेहनत पर्दैन ।

नेताहरूका अभिव्यक्तिका आधारमा नेकपामा अहिले देखिएको समस्या ‘विधि र प्रक्रिया’ को पालना भएन भन्ने हो । यथार्थमा यो होइन । विधि र प्रक्रियालाई लिएर नेकपामा बहस हुन छाडेको वर्षौँ भइसकेको छ । नेकपा मात्र होइन, अन्य कुनै पनि ठूला राजनीतिक दल विधि र प्रक्रियाले चल्दैनन् । त्यसरी चल्नुपर्ने आवश्यकता पनि छैन । जुन नेताले शीर्ष नेताहरूको व्यवस्थापन ग¥यो, त्यसैले अविच्छिन्नरूपमा देश र दलमा दाइँ गर्न सक्छ । यसका निम्ति सत्तारुढ नेकपा मात्र होइन, प्रमुख विपक्षी नेपाली कांग्रेसलाई हेरे पनि पुग्छ ।

नेकपामा अहिले देखिएको समस्याको अवतरण त्यतिबेलै सुरु भयो, जतिबेला प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरे । ओली वाणी भुइँमा खस्न नपाउँदै गौतमले आफूलाई प्रधानमन्त्रीको मेचमा देख्न थालिसकेका थिए । त्यसपछि उनले घर फर्केपछि नेताहरूलाई आफू प्रधानमन्त्री बन्ने र सहयोग गर्नुपर्ने याचना पनि गर्न थाले । त्यही बेलादेखि अब सचिवालय बैठकमा देखिएको ओलीको अल्पमत बहुमततिर लागिसकेको अनुमान भएको हो ।

त्यो बैठकमा उपस्थित एक जना नेताले तत्कालै यो पंक्तिकारलाई भनेका थिए– ‘उहाँले तुरुन्तै प्रधानमन्त्री पद पाइसकेको ठान्नुभयो । बस्, तुरुन्तै सबै निर्णय सहमतिमा गर्नुपर्छ भन्न थाल्नुभयो ।’ ओली आफैँले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गम्भीर भएर नल्याएको बताएका थिए । उक्त जानकारी अखबारमा उद्धृत भएको छ– तपाईँहरूले ढुंगा हानेपछि मैले प्रत्युउत्तरमा अश्रुग्यास फालेको हुँ, भाग्ने कि प्रत्युत्तरमा मलाई नै अश्रुग्यास हान्ने तपाईँहरूकै कुरा हो ।

वास्तवमा ओलीले नेकपा नेताहरूको मानसिकता बुझेर त्यही तहको प्रत्याक्रमण गरेको बुझ्न गाह्रो छैन । यो प्रकरणपछि नेता नेपालले अघि सारेको ‘एक व्यक्ति एक पद’ को अवधारणाले फेरि एकपटक पराजय भोग्नुपरेको छ । तत्कालका निम्ति नेपाललाई घाटा परेको देखिए पनि दीर्घकालमा फेरि गौतम पराजित हुने वातावरण तयार भएको छ ।

गौतमलाई राष्ट्रियसभामा लगेर संविधान संशोधनमार्फत् प्रधानमन्त्री बनाउने भन्ने प्रस्तावमा पनि अहिलेका निम्ति विराम लागेको छ । अब गौतमलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने र निर्वाचित भएर आएपछि प्रधानमन्त्री बनाउने भनिएको छ । त्यो पनि ‘उपयुक्त समय’ मा । त्यो समय कहिले आउने ? निश्चित छैन । प्रतिनिधिसभाको कुनै रिक्त हुने वा गराइने स्थानमा गौतम उम्मेदवार हुनासाथ निर्वाचित हुन्छन् भन्ने के निश्चित छ ? यसै पनि सत्तारुढ नेकपाको स्थिति धरमर हुँदै गइरहेको छ । झन् त्यसमा पनि कुनै त्यस्तो निर्वाचन हुने भयो भने नेकपालाई देखाइदिन पनि आममतदाताले आफ्नो अधिकार प्रयोग गर्नेछन् । त्यति मात्र होइन, अघिल्लो निर्वाचनमा गौतमलाई पार्टीभित्रैबाट घात गरिएको भन्ने छ । त्यही स्थिति फेरि नदोहोरिने सुनिश्चितता गौतमसँग होला ?

प्रधानमन्त्री ओलीका निम्ति यसपटकको खेल साह्रै सजिलो भएको छ । गत साता यो पंक्तिकारले लेखेकै थियो– शीर्षहरूको शीर्षासन । ओलीका अगाडि शीर्ष नेताहरूको केही लाग्दैन भन्ने जानकारी गराउनु त्यो लेखको उद्देश्य थियो । अहिलेको समस्या समाधान भइसकेपछि यसलाई पुनः सम्झनुको उद्देश्य खेल कति सजिलै टुंगियो भन्ने हो । अहिलेको खेलमा एक मात्र विजेता ओली भएका छन् । बाँकी नेताले फेरि पनि शीर्षासन गर्नैपर्ने भएको छ ।

प्रिय पाठकहरू, अब लेखेर राख्नुहोला– गौतम प्रधानमन्त्री हुने छैनन् । किन ? नेकपाभित्र अहिलेको विवादमा नेता नेपालले ‘उधारो’ हुँदैन भनेका छन् । त्यही भएर उनी अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको अहिलेको खेलमा बीचैमा रहे । उनलाई झण्डैको प्रधानमन्त्री बनाउने काम दाहाल पक्षबाट भए पनि यो सम्भव छैन भन्नेमा उनी अडिरहे ।  ओलीले दिने आश्वासनमा पनि उनले खासै चासो देखाएनन् । तेस्रो अध्यक्ष बन्ने आश्वासनलाई उनले सुरुदेखि नै अस्वीकार गरेका थिए । रह्यो अन्य पद बाँडफाँटको, त्यसमा पनि उनी यसपटक सावधान देखिए । अहिले संख्याको खेलामा उनी कमजोर देखिएलान् तर भोलि विधि र प्रक्रियाअनुसार चल्ने स्थिति आएको खण्डमा उनको भूमिका हुने नै छ ।

वरिष्ठ नेता झलनाथ खनालले पनि यसपटक विधिकै कुरा गरेका छन् । पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले त सैद्धान्तिक प्रश्न अघि सारेर यसअघिको बैठकमा पनि नेताहरूलाई ¥याख¥याखी पारेकै हुन् । वास्तवमा यसपटक अध्यक्ष दाहालले पाएको उपलब्धि उल्लेख्य हुन सकेन् । यत्रो ठूलो अभियान चलाएर उनलाई प्राप्त भएको उपलब्धि प्रधानमन्त्री ओलीसँगै कुर्सी राख्ने अवसर मात्र हो । यसअघि उनलाई ओलीले आफ्नै पंक्तिमा नराखी चौकाबाट तल राखेका थिए । अहिले पनि उनलाई एक तह माथि राखेको मात्र हो ।

यसपटकको खेलमा दाहालले फेरि विश्वास गुमाएका छन् । उनलाई फेरि आउने दिनमा ओलीले चौकाबाट लघार्ने स्थिति आउँदा अरूले विश्वास गरिहाल्ने छैनन् । गौतमलाई प्रधानमन्त्री दिने आश्वासनकै भरमा अल्पमतमा परेको पार्टी केन्द्रीय सचिवालयलाई बहुमतमा पु¥याउन सफल भएपछि ओलीका निम्ति स्थायी कमिटीको अल्पमतलाई उल्ट्याउन पनि ठूलो कसरत पर्दैन । यसका निम्ति उनले आश्वासन दिए पुग्छ ।

ओलीविरुद्ध अहिले नेकपामा देखिएको वातावरण सैद्धान्तिक होइन । कतिपय उनका द्वारपालले बाटो छेकेका कारण रिसाएका छन् । कतिपय उनले सत्तामा पुगेपछि बेवास्तामा परेको ठानेर टाढिएका छन् । ओलीले यसो बोलाएर हिजोका ‘केही मीठा कुरा’ गरे पुग्छ । यति सहजै व्यवस्थापन हुने नेकपाबाट ओलीको पार्टी सत्ता अकण्टक छ ।

नेकपाभित्र कुनै ठूलो राजनीतिक घटनाक्रम तत्काल हुन्छ भन्ने विश्वास अब गुमेको छ । भविष्यमा प्रधानमन्त्री बनाइनेछ भन्ने आश्वासनकै भरमा समस्या समाधान हुने पार्टीका निम्ति सबै कुरा गौण हुन सक्छन् । कोरोना भाइरसविरुद्धको यत्रो महामारीमा नेकपा नेताहरूबाट प्रदर्शित विदूषकको भूमिकाले प्रस्ट पारेको छ– भविष्यमा ओलीविरुद्ध आउने अन्य कुनै पनि समस्या केवल उनको कपमा देखिएको तुफानभन्दा ठूलो होइन । यसले ओलीको कद जति अग्लो बनाएको छ नेताहरूको भूमिकाले सत्तारुढ दलको गरिमा भने घटाएको छ । यसमा उठ्ने भविष्यका विवादलाई गम्भीरपूर्वक लिनेको संख्या अरु ओरालो लाग्नेछ ।

नागरिक, सोमबार, २२ बैशाख २०७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *