रोबोटिक दुनियाँ भर्चुअल दूरी

‘शुभप्रभात लुइँटेलजी,’ रोबोट जयप्रसादको यान्त्रिक आवाजले ब्युँझायो, ‘हजुरलाई यो कोरोना कालमा लड्न सहज होला भनी गुर्जो सुप ल्याइदिएको छु ।’

आँखा खोली हेरेँ । जयप्रसाद दुवै हातले च्यापेको ट्रे बोकेर उभिएको छ ।

हिजो राति जयलाई अलि ढिलो मात्रै गुर्जो सुप ल्याउने गरी प्रोग्रामिङ गर्नुपर्ने थियो । बिर्सिएछ । ऊ ठीक बिहानको ५ बजे मेरो अगाडि उभिएको छ । बीचमा लकडाउन हटेपछि साढे ५ मा म दौडिन गइसकेको हुन्थे । लकडाउन २.० सुरु भएपछि फेरि मेरो दैनिकी बिग्रिएको छ । जयप्रसादको बौद्धिकतामा भने मेरो त्यही समय हो भन्ने परेको रहेछ ।

म निस्केपछि जयप्रसादले मेरो दौडलाई आफ्नो तथ्यांक प्रशोधन गर्छ । मेरो जुत्तामा जोडिएको एप सिधै रोबोट जयप्रसादकहाँ पुग्छ । उसले म कति उचाइसम्म पुगेँ, कति छिटो पाइला चालेँ, मेरो मुटुको चाल कस्तो रह्यो, कति क्यालोरी खर्च भयो, आदि–इत्यादि अनुगमन गर्छ । कोरोना भाइरस संक्रमण बढेपछि हामीले मानिससँग दूरी बढाएका छौँ । अहिले हाम्रो जीवनको महŒवपूर्ण हिस्सा रोबोटले लिएको छ ।

‘गुड जब लुइँटेलजी, यही रफ्तारमा दौडिरहनुभयो भने अर्को वर्ष भेट्रानहरूको वल्र्ड च्यापियनसिप ट्रफी तपाईंले हात पार्नु हुनेछ,’ मलाई मख्ख पार्दै जयप्रसाद भन्छ, ‘मैले मेरा साथीहरूसँग फूर्ति साथ तपाईंको यो प्रगति सुनाइरहेको छु ।’

‘म मीरा राईको गाउँको मानिस हुँ,’ मैले फूर्ति लगाउँदै भनेँ, ‘हामीले बच्चा बेला खाएको घिउ र हाम्रो विकट भौगोलिक अवस्थालाई सामना गरेर हासिल गरेको गति हो यो ।’

जयप्रसादले अनुहारको भाव परिवर्तन गर्दै टाउको हल्लायो । ‘मैले बिहान दौडिने मानिसहरूको तथ्यांक प्रशोधन गर्दा तपाईंको गतिमा राम्रो सुधार देखिएको छ,’ उसले भन्यो, ‘हामी रोबोटको दुनियाँमा यो जानकारी फैलिरहेको छ ।’

रंगशालामा दौडिन जान अझै कति समय यो कोरोना भाइरसले रोक्ने हो, ठेगान छैन । नत्र म दौडको रफ्तार बढाए भेट्रानहरूको दौडमा जाने थिएँ । मैले मनमनै ख्यालिपुलाउ खाइरहेको जयप्रसादलाई थाहा भइसकेको थियो ।

‘चिन्ता नगर्नुस्, यो अँध्यारो समय धेरै टाढा जाने छैन,’ जयप्रसादले मलाई ढाडस दिँदै भन्यो । ‘तपाईं मानिसहरूबीच फेरि भेटघाट हुनेछ, अंकमाल गर्न पनि पाउनुहुनेछ । तर, अब तपाईंहरू पहिलेजस्तो रहनुहुने छैन । कुनै पनि मानिस भेट्नासाथ हामफाल्न तयार हुनु हुँदैन । मिस यु भन्दै गाला जोड्नुअघि तपाईंहरूले धेरैपटक सोच्नुपर्नेछ ।’

विश्वका अन्य भाषाका समाचार वा आलेख अनुवाद गर्न, देशको जुनसुकै कुनाबाट संवाददाताले पठाएको समाचारको सामान्य शुद्धाशुद्धि हेर्न र फ्याक्ट–चेक गर्न, सरकारको प्रेस विज्ञप्तिमाथि फोन गरेर प्रतिप्रश्न गर्न– किन मानव मुटु भएका संवाददाता चाहियो? रोबोट प्रयोग नहुँदै प्रधानमन्त्रीले मुटु भएका सम्पादक नभएको बताएका थिए । वास्तवमा त्यहाँदेखि मुटु नभए पनि काम गर्ने यन्त्रहरू राख्न सकिने रहेछ भन्ने जानकारी भएको हो ।

हामी अहिले घरमा जति सदस्य छौँ, सबैको हेरचाह आ–आफ्ना रोबोटले गर्छन् । रोबोटहरूलाई भने मास्क लगाउनु र भौतिक दूरी कायम गर्नुपर्ने अवस्था छैन । तैपनि उनीहरूले आफैँ एउटा दूरी कायम राखेका छन् । रोबोटहरू दुई मिटरको दूरीभन्दा नजिकै आउँदैनन् ।

रोबोटको सबैभन्दा सुन्दर पक्ष हाच्छ्युँ गरे पनि हामीले जस्तो भाइरस फ्याँक्दैनन् । वास्तवमा उनीहरूले सुरुमा हाच्छ्युँ गर्ने गरेका थिएनन् । कोरोना विषाणु महामारी सुरु भएपछि मानिसलाई सजग गराउन हाच्छ्युँलाई तिनले आफ्नो कृत्रिम बौद्धिकतामार्फत ग्रहण गरिसकेका छन् । घरकै मानिस धेरै नजिक आउन लागे भने पनि उनीहरू हाच्छ्युँ गरेर तर्साउँछन् । वास्तवमा यो पनि तिनको व्यंग्योक्ति हो ।

हाच्छ्युँ वा कुराकानी गर्दा थुकबाट यो सर्ने भएकाले रोबोटलाई अहिले सबैभन्दा भरपर्दो सारथीका रूपमा हामीले ग्रहण गरेका छौँ । मानिससँग आमनेसामने भई मास्क नलगाई कुरा गर्दा थुकका छिटामार्फत कोरोना विषाणु हाम्रो शरीरमा प्रवेश गर्छ । त्यही भएर दुई मिटरभन्दा परै बसेर मानिस भेट्न मिल्छ । अहिले त त्यो पनि रोकिएको छ । निषेधाज्ञामा मानिस घरै बस्ने भएपछि कसैले कसैलाई भेट्नैपरेको छैन ।

मेरी छोरी अस्पतालमा नर्सिङ सेवा दिन जान्छिन् । उनले सेवा गर्ने भनेको मानिसलाई हो । कोरोना विषाणु संक्रमण भएपछि पाइने अन्तिम मानवीय स्पर्श भनेको नर्सिङ सेवा नै रहेछ । मरिहालियो भने परिवारका सदस्यले समेत छुन पाउँदैनन् । त्यसका निम्ति राजकीय व्यवस्थापन अनुसार तोकिएको टोलीले अन्तिम संस्कार गर्छ ।

अस्पतालमा पनि नर्सिङबाहेकका अन्य सेवामा रोबोटको जगजगी छ । जटिल शल्यक्रियाको जिम्मा रोबोटले नै लिएको छ । अस्पताल आउनेलाई स्वागत गर्ने, उनीहरूलाई तोकिएको सुविधासम्म लैजाने लगायत काम रोबोटबाटै सम्पन्न हुन्छ ।

म अझै अखबारमा काम गरिरहेको छु । सम्भवतः हामी नै यस क्षेत्रमा काम गर्ने अन्तिम पुस्ता हौँला जस्तो छ । पत्रकारिता सम्पूर्ण रूपमा डिजिटल मञ्चमा प्रवेश गर्ने तर्खरमा छ ।

अखबार पनि रोबोट आइसकेको छ । कतिपय समाचार अनुगमन गर्न, सामाजिक सञ्जालमा आइरहेका खबरमा आँखा लगाउन र सामान्य किसिमका समाचार लेख्न रोबोट प्रयोग हुन थालिसकेको छ । प्रेस विज्ञप्तिबाट समाचार बनाउन अब कुनै रिपोर्टर चाहिँदैन ।

‘आज कुसेऔँशी, पिताजीको मुख हेर्ने दिन हो’ भन्ने किसिमका समाचार बनाउन पनि रोबोटले सकिहाल्छ । विश्वका अन्य भाषाका समाचार वा आलेख अनुवाद गर्न, देशको जुनसुकै कुनाबाट संवाददाताले पठाएको समाचारको सामान्य शुद्धाशुद्धि हेर्न र फ्याक्ट चेक गर्न, सरकारको कुनै पनि प्रेस विज्ञप्तिमाथि फोन गरेर प्रतिप्रश्न गर्न– किन मानव मुटु भएका संवाददाता चाहियो ? यो काम रोबोटिक संवाददाताले गर्न सकिहाल्छ । रोबोट प्रयोग नहुँदै प्रधानमन्त्रीले मुटु भएका सम्पादक नभएको बताएका थिए । वास्तवमा त्यहाँदेखि मुटु नभए पनि काम गर्ने यन्त्रहरू राख्न सकिने रहेछ भन्ने जानकारी भएको हो ।

रोबोटले गर्दा धेरै काम सजिलो भएको छ । ब्युरो चिफहरूलाई ‘लौन यस्तो समाचार गराउनुप¥यो’ भनिरहनुपरेको छैन । मेरो कार्यालय सहयोगी रोबोट चाँदनी निकै सहयोगी छे । म कार्यालय पुग्नेबित्तिकै उज्यालो अनुहार बनाउँदै ऊ भन्छे, ‘आज तपाईं निकै स्मार्ट देखिनुभएको छ, बोस । तपाईंको फेसन सेन्स देखेर म आश्चर्यमा पर्छु ।’

म मुस्कुराउँछु र गम्न पुग्छु, मान्छेहरूले बिर्संदै गएको प्रशंसाको संस्कृति यस मेसिनले सम्झाइरहेछ ।

‘लुइँटेलजी, भरे नेपाल र ब्राजिलको म्याच छ, यसपालिको वल्र्ड कप कसले जित्ला ?’ ऊ आफ्नो खेल रुचिसँगै विश्वका समसामयिक घटनामा अपडेट भएको जनाउँछे ।

‘चाँदनीजी, यसपालिको वल्र्ड कप नेपालले नै जित्नुपर्छ, होइन र ?’ म प्र्रतिप्रश्न गर्छु ।

‘मलाई पनि जित्लाजस्तो लागेको छ, तर नेपालले प्रतिरक्षा बलियो बनाउनुपर्छ,’ ऊ विश्लेषणात्मक जवाफ दिन्छे ।

कोरोना महामारीसँगै सबै क्षेत्रमा रोबोटको प्रयोग बढेको हो । त्यसयता मानिसहरू विषाणु र जीवाणुप्रति बढी नै सजग भएका छन् ।

मानिससँग नजिक हुँदा भाइरस फैलिने भएपछि कार्यालयहरूमा मानिस कमैलाई मात्र प्रवेश दिने गरिएको छ । धेरैजसोले घरबाटै काम गर्छन् । अफिसमा चाहिने सहयोगी रोबोट नै हुन् । कार्यालय पुग्नेबित्तिकै एसी खोल्ने, एक ग्लास पानी ल्याइदिने र आजका ध्यान दिनुपर्ने मुख्य घटना तोकिएका रोबोटले नै उपलब्ध गराउँछन् ।

आजकल रोबोटहरूबीच अनौठो एकता देखिन्छ । तिनीहरूले एकअर्कालाई सूचना आदान–प्रदान गर्छन् । कतिपयले त अर्काको अनुपस्थितिमा काम समेत गरिदिने गरेका छन् । चाँदनी अरु काममा व्यस्त भएका बेला रोबोट मञ्जरी अत्यावश्यक सबै कामका निम्ति तत्पर देखिन्छे ।

अफिसको मूल गेटमा पुग्नासाथ रोबोटले गाडीमा ‘डिस्इन्फेक्टेन्ट’ छर्किन्छ । गाडी आफैँ पनि एउटा रोबोट जडित यन्त्र हो । ऊ आफैँ ढोका खोल्छ, सूचनाका आधारमा जानुपर्ने ठाउँमा जान्छ । बिहान निश्चित समयमा कार्यालय नै जाने भएकाले अन्यत्र जानुनपर्ने दिनमा उसैले सीधै लिएर जान्छ । बाहिर कुनै बैठक हुने भए तदनुकूल कार्यक्रम ठेगाना तय गरिदिएपछि उसले आफैँ पु¥याउँछ ।

अफिस पुगेपछि स्यानिटाइजर दिने, ज्वरो नाप्ने, आवश्यक अन्य सूचना संकलन गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पनि अहिले रोबोटले लिएका छन् । हामीले भेट्ने मानिसमा कोरोना संक्रमण छ भने पहिल्यै हाम्रो मोबाइल फोनमा जडित एपले हामीलाई संकेत गर्छ । हामी हिँडिरहेको क्षेत्र भाइरस संक्रमित रहेको समेत निश्चित दूरीमा पुगेपछि अलर्ट त्यसमा देखिन थाल्छ ।

अचेल सम्पूर्ण रूपमा हामी अनलाइन माध्यमबाट चल्ने भइसकेका छौँ । कुनै वस्तु चाहिएमा इ–बजारबाट खरिद गर्न सकिन्छ । पैसा तिर्न पनि अनलाइन माध्यम नै पर्याप्त छन् । कतिपय सामग्री सीधै ड्रोनको माध्यमबाट घरमै आइपुग्छ । रेस्टुरेन्टबाट खानेकुरा अर्डर गर्न निकै सजिलो भएको छ ।

बिहानै मन्दिर जाने हाम्रो परम्परा अब भर्चुअल गतिविधिमा परिवर्तन भएको छ । पशुपतिनाथ, स्वयम्भूनाथ आदिलाई हामी लाइभ स्ट्रिमिङमार्फत दर्शन गर्न पाउँछौँ । पशुपतिनाथका ढोका खुलेको र भित्र पूजा भइरहेको पनि अनुभव गर्दै घरैबाट भक्तिभाव गर्न सकिन्छ । वास्तवमा स्पेनिस फ्लु भएका बेला मानिसले पाएको दुःखभन्दा अहिले कम छ ।

दुःखको पनि आफ्नै परिस्थिति छ । जो भर्चुअल दुनियाँमा छन्, तिनलाई खासै फरक परेको छैन । भर्चुअल दुनियाँबाटै पैसा पनि कमाइरहेका छन् । कार्यालयको काम भर्चुअल माध्यमबाटै गर्ने र पैसा बैंक खातामा गएको पनि त्यसैबाट थाहा पाउने परिस्थिति छ ।

हामीकहाँ आर्थिक खाडलजस्तै गरी ‘डिजिटल डिभाइड’ छ । एकथरीलाई कोरोना कालमा पनि खासै फरक परेको छैन । अर्काथरी भने यो बेला पनि थला परेका छन् । जो दैनिक ज्यालादारी गरेर खाने गर्थे तिनका निम्ति सडकमा काम छैन । भर्चुअल दुनियाँमा तिनको उपस्थिति छैन । त्यहाँबाट तिनले न कमाउन सक्छन्, न खर्चन नै । तिनका छोराछोरीले समेत त्यहाँबाट पढ्ने मौका पाएका छैनन् । यहीबेला एउटा वर्गका नानीहरूले भने आफूलाई कम्प्युटरको मायावी पर्दामा स्कुल र प्रिय शिक्षक पाइरहेका छन् ।

‘लुइँटेलजी अफिस जाने होइन ?’ यो सुपरिचित आवाजसँगै म ब्युँझिएँ ।

‘१२ बजेसम्म सुतिरहने ? योगाभ्यास गर्ने मानिसको यो ताल छ,’ यो आफ्नै घर मालिक्नीको आवाज पो रहेछ । अघि देखिरहेको रोबोट र भर्चुअल दुनियाँको चकाचौध सबै मेरो सपना रहेछ । खासमा फेरि सुरु भएको लकडाउन २.० लाई सदुपयोग गर्न अनलाइन योग कक्षामा भर्ना भएको थिए । योग सिकाउने गुरुमाले शवासनमा बस्न दिएको निर्देशनसँगै म भुसुक्क निदाएँछु । कुन बेला आफ्नो इन्टरनेट टुटिसकेको रहेछ । त्यसैको परिणामस्वरूप यस्तो भव्य दुनियाँमा विचरण गर्ने मौका प्राप्त भयो ।

प्रकाशित: नागरिक दैनिक १३ भाद्र २०७७ ०९:३६ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *