’कोरोना जितेको होइन, बाँचेर आएँ‘

कोरोना भाइरस संक्रमणमा अस्पतालबाट उपचारपछि फर्कनेहरूलाई प्रोत्साहित गर्दै हामीकहाँ लेखिने गरेको छ– उनी कोरोना जितेर फर्किए। तर एकजना कोरोना संक्रमित बिरामी भने निको भएर फर्केपछि भन्छन्, ‘कोरोना जितेर फर्केको भन्नु नै गलत हो।’

‘म कोरोना जितेर फर्केको होइन,’ धुम्बाराही काठमाडौंका ५० वर्षीय राजेन्द्रबहादुर सिंहले बुधबार नागरिकसँग भने, ‘म कोरोनाबाट बल्लबल्ल बाँचेर फर्केको हुँ।’

अस्पतालको अति सघन कक्ष (आइसियू) मा नौ दिन उपचार गराएर उनी मंगलबार घर फर्केका हुन्। ‘कोरोना जितेर फर्के भन्नु बकबास हो,’ उनले भने, ‘यो संक्रमणमा प्रत्येक व्यक्तिका अलगअलग लक्षण र भोगाइ छन्। यसलाई सजिलै जित्न सकिन्छ भनेर हेल्चक्र्याइँ नगरौं। निकै ठूलो संघर्षबाट मैले नयाँ जीवन पाएको हुँ।’

समयमै उपचार पाएका कारण मात्र आफू बाँचेको सिंहले बताए। ‘एक दिन मात्रै ढिलो भएको भए पनि म रहने थिइनँ,’ उनले गम्भीर हुँदै भने, ‘दुई महिनाअघि संक्रमित भएको भए पनि मेरो ज्यान जाने रहेछ किनभने त्यो बेला जीवनदायिनी औषधि रेमडिसिभिर प्रयोगमा आइसकेको थिएन।’

एक महिनादेखि घाँटी खसखसाइरहेका कारण सुरुमा उनलाई सामान्य रुघाको लक्षण होला भन्ने लागेको थियो। त्यसका निम्ति बीचबीचमा एजिथ्रोमाइसिन खाइरहेका थिए। निको हुँदै फेरि बल्झिँदै गरेको थियो। पछिल्ला दिनमा जीउ तातेको जस्तो भयो। ज्वरो आउँदा ९९ डिग्री थियो। यो बढेर १ सय ३ डिग्रीसम्म पुग्यो। ‘भाइरल फ्लु होला भनेर पाँच दिनसम्म हेरें,’ उनले भने, ‘वास्तवमा मेरो गल्ती त्यहीं भएछ।’

उनले अगाडि भने, ‘ज्वरो बढेपछि म रक्तपरीक्षणका निम्ति अस्पताल गएँ। त्यहीं पिसिआर पनि गराएँ। पिसिआरमा म कोरोना पोजेटिभ रहेको पत्ता लाग्यो।’

सुरुमा उनी घरमै आइसोलेसनमा बसे। स्टार अस्पतालको निगरानीमा उनलाई प्रत्येक दुई घन्टामा चिकित्सकले फोन गरेर सोध्ने गरेका थिए। अक्सिजन तह ९४ प्रतिशतभन्दा तल भएपछि अस्पताल लगिएको थियो। ‘आफूलाई ज्वरोमात्र आएको छ, खानामा रुचि छ, स्वाद गएको छैन, सुँघ्ने क्षमता हराएको छैन, पखाला पनि छैन भनेर घरैमा बस्नु झन् खतरा हो,’ सिंहले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका सूचनामै भर गरेर आफ्ना बारेमा निर्णय नगरौं।’

‘कोरोना संक्रमण हुनुअघि तातो पानी आदि खानेकुरा ठीकै होला तर भइसकेपछि बाफ लिनेबाहेक हर्रोबर्रो वा बेसारपानी खाने भन्ने कुरा बकबास हुन्। राम्रो औषधि उपचारले मात्र हामीलाई बचाउन सक्छ।’

कोरोना संक्रमण भएका प्रत्येक व्यक्तिका लक्षण फरक हुने बताउँदै उनले भने, ‘मलाई यस्तो लक्षण छैन भनेर ढुक्क हुन सकिँदैन।’ कोरोना विषाणु संक्रमणको रिपोर्ट पोजेटिभ भनेर दिनेमात्र होइन, भाइरस लोड अर्थात् ‘सिटी भ्यालु’ समेत बिरामीलाई दिँदा उपचार र सावधानीमा सहयोग पुग्ने उनको सुझाव छ। अहिले कसको भाइरस लोड बढी छ र संक्रमण गराउन सक्ने अवस्था के छ भन्ने थाहा पाउन पनि यो जानकारी दिने र लिने हुनु उचित भएको उनले बताए।

यो संक्रमण हाम्रा स्वास्थ्यकर्मीका निम्ति मात्र होइन, संसारकै निम्ति नयाँ हो। सबैले आफैं अध्ययन र अनुभवलाई उपयोग गर्दै उपचार गरिरहेका छन्। आफूले पाएको उपचारकै कारण जीवन बचेकोमा धन्य मान्दै सिंहले भने, ‘हाम्रा जीवित भगवान् यति बेला अस्पतालमा छन्।’

‘त्यति बेला म रोएँ, जति बेला २०–२२ वर्ष उमेरका नर्सहरूले आफ्नो ज्यान बाजी थापेर उपचारमा संलग्न रहेको पाएँ,’ उनले भने, ‘जति बेला पनि उनीहरूले आए र मेरो मनोबल बढाए। उनीहरू आएर भन्थे– बुवा तपाईंलाई केही हुँदैन, हामी छौं नि।’

‘यी जीवित भगवान् हुन्,’ भावुक हुँदै सिंहले भने, ‘यो अवस्था ठीक भएपछि म उपचारमा संलग्न चिकित्सक र नर्सलाई उपहार बोकेर जानेछु।’ कोरोना उपचारमा संलग्न चिकित्सक र नर्सलाई यति बेला प्रोत्साहनको आवश्यकता रहेको उनले बताए। त्यति मात्र होइन, हाम्रै मेडिकल कलेजमा पढेका चिकित्सक र नर्सको ज्ञान र सीप यति बेला काम लागेको उनको अनुभव छ। ‘वास्तवमै उनीहरूले सिकेको सीप यति बेला काम आएको छ,’ उनले भने, ‘मलाई उनीहरूले सुरुदेखि नै ठीक औषधि चलाए, राम्ररी हेरविचार गरे।’

कोरोना संक्रमण भएपछि परिवारका मानिसले समेत भेट्न पाउँदैनन्। यस्तो बेलामा चिकित्साकर्मीको स्पर्श नै अन्तिम सहारा बन्न पुग्छ। यो अनुभव सिंहले राम्ररी गर्न पाए। अझ तिनले घन्टौं खानासमेत खान नपाईं रक्षात्मक सामग्री (प्रोटेक्टिव गियर) शरीरमा लगाएर पसिनाले लथपथ भए बस्नुपर्ने अवस्था हुन्छ। तिनले बिरामीसम्म पुग्न लगाउने रक्षात्मक सामग्री लगाउनै घन्टा लाग्छ। यस्तो अवस्थामा पनि तिनले नझर्की सेवा गरेको देखेर उनीसँग चिकित्साकर्मीका निम्ति प्रशंसाबाहेक अरू शब्द छैनन्।

‘तपाईं कल्पना पनि गर्न सक्नु हुन्न, म कसरी बाँचेर फर्किएँ,’ उनले धन्य मान्दै भने, ‘जिउमा यति बेला मलाई खोप लगाएका मात्र ६० भन्दा बढी निसाना छन्। कोरोना उपचारका निम्ति चलाइएको रेमडेसिभिर नामक एन्टिभाइरल औषधि जीवनदायिनी सावित भएको छ। यो औषधि नभएको भए पनि मलाई बाँच्न मुस्किल थियो।’

उनलाई अचेल कोरोना संक्रमणका सम्बन्धमा सार्वजनिक रूपमा व्यक्त हुने आधारहीन धारणा सुनेर डर लाग्छ। बेसारपानी खानेजस्ता अनेकन जानकारी जिम्मेवार व्यक्तिबाटै आउँछन्। ‘कोरोना संक्रमण हुनुअघि तपाईंलाई तातोपानी आदि खानेकुरा ठीकै होला तर भइसकेपछि बाफ लिनेबाहेक हर्रोबर्रो वा बेसारपानी खाने भन्ने कुरा बकबास हुन्,’ उनले भने, ‘राम्रो औषधि उपचारले हामीलाई बचाउन सक्छ। त्यसका निम्ति हाम्रा स्वास्थ संस्थामा सुधार र चिकित्सकलाई प्रोत्साहन अत्यावश्यक छ।’

सीता एअर र माउन्टेन हेलिकोप्टरका प्रबन्ध निर्देशक एवं प्रवद्र्धक सिंहले सीमित व्यक्तिलाई मात्र भेटेका थिए। परिवारका सदस्य, चालक र अन्य सम्पर्कमा रहेका व्यक्तिमा समेत कन्ट्याक्ट ट्रेसिङ गर्दा कोरोना विषाणु संक्रमण नेगेटिभ रहेको थियो। उनको अनुमानमा बैंक नोटबाट संक्रमण भएको हुन सक्छ, आफूले नोट छोइसकेपछि विषाणु हातले अनुहार छोइँदा शरीरभित्र प्रवेश गरेको हुन सक्छ। उनी कोरोना हाम्रोबीचमा रहेको हुनाले जसरी पनि यसैसँग बाँच्नुपर्छ भन्ने भनाइसँग पनि सहमत छैनन्। संक्रमणको चपेटामा नपरेका र आफूलाई यसले छुन सक्दैन भन्ने खालका मानिसका गैरजिम्मेवार अभिव्यक्तिप्रति उनले आपत्ति प्रकट गरे। ‘अहिले घरघरमा यसको संक्रमण भइरहेको छ,’ उनले भने, ‘महिलालाई हुने संक्रमण हामीकहाँ २३ प्रतिशत छ। अन्यत्र मुलुकमा यो ६ प्रतिशतमात्र छ। यो निकै खतरनाक अवस्था हो। यति बेला काम गर्न पाइएन भन्ने भन्दा पनि सकेसम्म एक महिना सुरक्षित बसेर संक्रमण घटाउनु बुद्धिमानी हुन्छ। अहिल्यै उद्योग, व्यापार खोल्ने हतार गर्नु हुँदैन।’

कोरोना विषाणु संक्रमणबाट उनी बाँचे पनि अझै लामो समय उनले छातीको अभ्यास गरेर श्वासप्रश्वास प्रणाली सामान्य अवस्थामा ल्याउनुपर्नेछ। घरैमा बसेर आराम गरिरहेका उनले अक्सिजन लिइरहनुपरेको छ। उनले कुराकानीको बिट मार्दै भने, ‘कृपया मलाई कोरोना जितेको भनेर नलेखिदिनु होला। म बल्लबल्ल बाँचेर फर्केको हुँ।’

प्रकाशित: नागरिक दैनिक १८ भाद्र २०७७ ०७:२३ बिहीबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *