स्वास्थ्य सवाल

हामी नेपालीको सबैभन्दा ठूलो चिन्ताको विषय के हो ? त्यो हो– रोग। वास्तवमा हामीले सबैभन्दा बढी झस्किनुपर्ने विषय पनि यही हो। कथं रोग लागिहाल्यो भने जिन्दगीभरिको कमाइ स्वाहा हुन्छ। परिवारका बाँकी सदस्यले दुःख पाउँछन्।

हामीकहाँ उपचार सस्तो र सुलभ छैन। हामी संविधानतः स्वास्थ्योपचारको अधिकार पाएका नागरिक हौँ। तर त्यो अधिकारबाट वञ्चित छौँ। यहाँ खल्तीमा पैसा भएका व्यक्तिले मात्र आफूलाई सुरक्षित महसुस गर्न सक्छन्।

प्रायः दूरदराज गाउँमा बस्ने व्यक्तिहरूलाई सुगम ठाउँमा सर्न प्रेरित गर्ने दुई मुख्य उद्देश्य हुन्– स्वास्थ्य र शिक्षा। तत्काल उपचार नपाएर जीवन जाने अवस्था नहोस् भन्नेमा धेरैको ध्यान हुन्छ। आफ्ना नानीहरूलाई शिक्षाको राम्रो प्रबन्ध गर्न सकियोस् भन्ने उनीहरूको अर्को चिन्ता रहन्छ।

नजिकै अस्पताल भएका ठाउँमा बस्न पाए अकालमा ज्यान जाँदैन भन्ने धेरै नेपालीका मनमा हुन्छ। त्यही भएर पहाडका सुन्दर बस्ती छाडेर सहरका अस्वस्थकर छिँडीमा बस्न पुग्नुपर्ने बाध्यता छ। त्यसैले मुलुकका सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच होस् भन्ने माग निरन्तर उठिरेहको छ। यस्तो मागको राष्ट्रियकरण गर्ने अभियन्ता रहेका छन्– डा. गोविन्द केसी।

उनी यो चरणमा आमरण अनशन बसेको तीन साता पुगिसकेको छ।

कोरोना विषाणु संक्रमणपछि हामी सबैलाई प्रभावकारी स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी भएको छ। बितेका ६ महिनामा हामीले सबैभन्दा बढी चर्चा गरेको विषय यही हो। कोरोना नामक महामारी चीनको वुहान भन्ने ठाउँमा आयो भन्ने अन्तर्राष्ट्रिय समाचार गत वर्ष पुसमा सुनेदेखि अहिलेसम्म हामी यसबारे जानकार भइसकेका छौँ। कोरोना के हो ? यो कसरी फैलन्छ ? यसबाट जोगिन के गर्नुपर्छ आदि/इत्यादि।

वास्तवमा हाम्रो मुलुकमा डा. गोविन्द केसी र कोरोना संक्रमण दुवैका कारणबाट स्वास्थ्य सेवाबारे गम्भीर बन्न हामी सबैलाई प्रेरणा प्राप्त भएको छ।

कोरोनाबारे जति जानकारी फैलिएको छ, त्यति नै यसबारे गलत सूचना पनि फैलिएका छन्। अहिले संसारले ‘इन्फोमेडिक’ बारे पनि जान्ने मौका पाएको छ। र, यस्ता गलत सूचनाको मुख्य स्रोतका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिने गरिएको छ। उनीसमेत यसको संक्रमणमा परेका छन्। संसारका सबैभन्दा शक्तिशालीदेखि सबैभन्दा सीमान्त व्यक्तिसमेतलाई नछाड्ने कोरोनाले सबैलाई यथोचित स्वास्थ्य सेवाको महत्वबारे दर्शाइरहेको छ।

वास्तवमा हाम्रो मुलुकमा डा. गोविन्द केसी र कोरोना संक्रमण दुवैका कारणबाट स्वास्थ्य सेवाबारे गम्भीर बन्न हामी सबैलाई प्रेरणा प्राप्त भएको छ। दुर्गम ठाउँ जहाँ सीमान्त नागरिकको बसोबास छ, त्यहाँ स्वास्थ्य सेवा पु¥याउनुपर्छ भन्ने आग्रह डा. केसीको छ। उनी त्यही आग्रहका साथ जुम्ला पुगेका हुन्। त्यहाँ उनले स्वास्थ्योपचारसँगै आमरण अनशनको थालनी गरे। त्यहाँ अवस्था गम्भीर भएपछि राजधानी काठमाडौँको शिक्षण अस्पतालमा राखिएको छ। आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गए पनि उनले अनशन छाडेका छैनन्।

उनले सन्देश दिइरहेका छन्– यसै कारण मैले निरन्तर स्वास्थ्य सेवा सुधारका निम्ति अनशन गर्दै आएको हुँ।

स्वास्थ्य सेवाको उचित प्रबन्धले जस्तोसुकै कठिन अवस्थामा पनि नागरिकलाई सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश दक्षिण कोरिया र थाइल्यान्डले दिएका छन्। एसियाकै यी दुई मुलुकले जसरी कोरोना नियन्त्रण गरेर आफ्ना नागरिकलाई सुरक्षित तुल्याएका छन्, त्यो अन्य मुलुकले किन गर्न सकेनन् ? हामीले कोरोनालाई व्यवस्थित गर्न सक्ने अवस्था रहँदारहँदै पनि राम्ररी काम गर्न सकेनौँ।

चीनले वुहानमा ७६ दिन अर्थात् १,८१४ घन्टामा कोरोना नियन्त्रण गर्न सफल भएको हामीले देखेका छौँ। कोरोना संक्रमण नियन्त्रणपछि चिनिया राष्ट्रपति सि चिनफिङ एउटा मास्क लगाएर त्यो ठाउँमा भ्रमण गरेको दृश्य संसारले आठौँ आश्चर्यका रूपमा हेरेको हो। तर हाम्रा निम्ति यो अवस्था महाभारतसरह भइसकेको छ।

चीनले वुहानमा ७६ दिन अर्थात् १,८१४ घन्टामा कोरोना नियन्त्रण गर्न सफल भएको हामीले देखेका छौँ। कोरोना संक्रमण नियन्त्रणपछि चिनिया राष्ट्रपति सि चिनफिङ एउटा मास्क लगाएर त्यो ठाउँमा भ्रमण गरेको दृश्य संसारले आठौँ आश्चर्यका रूपमा हेरेको हो।

थाइल्यान्डले आफूलाई कोरोना संक्रमणबाट जोगाउन सफल हुनुको कारण यसले आफ्ना स्वास्थ्य संरचनामा गरेको लगानी हो। सबै मुलुक बन्दाबन्दीमा रहेका बेलासमेत यसले आफ्ना नागरिकलाई कोरोना भयबाट मुक्त राख्न सक्यो। दक्षिण कोरियाले पाएको सफलताबारे त अन्तर्राष्ट्रिय सञ्चार माध्यमले चर्चा गरेकै छन्।

चैत ११ देखि सुरु भएको १२० दिन लामो बन्दाबन्दी, त्यसपछि केही समयका निम्ति खुला र फेरि भएको बन्दाबन्दीसमेत गर्दा हामीले ६ महिना कटाइसकेका छौँ। चैत ११ देखि मध्य असोजसम्मको हाम्रो समय भनेको स्वास्थ्य पूर्वाधार निर्माण र यससम्बन्धी नीतिगत व्यवस्थाका निम्ति उपयोग हुनुपर्ने थियो।

सुरुका केही दिन हामी आफ्नो स्वास्थ्य क्षमताको बखान गरेर थाकेनौँ। मुलुकका मुख्य जिम्मेवार व्यक्तिदेखि सर्वसाधारणसम्म ‘हाँच्छ्युँ साँछ्च्युँ गरेर कोरोना उडाइदिनुपर्छ’ भन्नेमा व्यस्त रह्यौँ। कोरोनाभन्दा ठूलो भोकको समस्या रहेछ। त्यही भोकले गर्दा सबैलाई बाहिर निस्कनै प¥यो, कामधन्दा गर्नै प¥यो। यो अवस्थामा कोरोना संक्रमण बढेको बढ्यै छ। एकै दिनमा शुक्रबार २,७२२ र शनिबार २१२० जनालाई कोरोना संक्रमण भयो।

एक जना व्यक्तिलाई कोरोना संक्रमण हुँदा सिंगो मुलुक ठप्प भएको थियो। आज एकै दिनमा करिब ३ हजार जतिलाई कोरोना देखिँदा पनि बन्द हुँदैन भन्नुपरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले २५ हजार सक्रिय संक्रमित पुगे पनि बन्दाबन्दी नहुने बताइसकेका छन्।

वास्तवमा हामीकहाँ कोरोना संक्रमण नियन्त्रणका राम्रा अभ्यास पनि भएका छन्। संक्रामक रोगमै काम गरिआएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गर्ने चिकित्साकर्मी कसैलाई पनि कोरोना विषाणुको असर परेको छैन। उनीहरू सुरुदेखि निरन्तर यसमा लागिरहेका छन् तर अन्य अस्पतालमै यसको समस्या देखिएको छ।

यसअघि कोरोना ‘हटस्पट’ भनिएको उदयपुरको भुल्केमा यसलाई नियन्त्रण गर्न सकिएको हो। सुरुसुरुमा नेपालगन्ज, चितवन आदिमा त्यही समस्या थियो। तिनले पनि यसलाई पार लगाए। यतिबेला काठमाडौँ उपत्यका सबैभन्दा खतराको स्थितिमा रहेको छ। राजधानी उपत्यका बाहिरको स्थिति यतिबेला नियन्त्रणमै छ। खालि उपत्यकाको भयाबह स्थितिले अब देशैभरि यसको फैलावट हुन्छ कि भन्ने भय छ। आउनै लागेका चाडपर्व यसको विस्तारका निम्ति सहायक हुने खतरा देखिन्छ।

कोरोना संक्रमण, यसको रोकथाम र सजगताबारे धेरै विषय सार्वजनिक भइसकेका छन्। वास्तवमा अहिले सार्वजनिक भएकै विषयलाई मात्र राम्ररी ध्यान दिने हो भने यसको भयाबह स्थितिबाट आफूलाई जोगाउन सकिने रहेछ। राम्ररी लाग्ने हो भने एक महिनामा यो नियन्त्रणमा आउँछ। जति पनि बिरामी छन्, तिनलाई ‘आइसोलेसन’ मा राख्ने र उपचार गर्ने, बाँकी जति पनि बिरामी देखिन्छन्, तिनलाई तत्कालै पहिचान गरेर उपचार गर्ने र फैलिन नदिने हो भने अहिले देखिएको समस्याबाट सहजै पार पाइने रहेछ।

यसका निम्ति हाम्रो स्वास्थ्य संरचनालाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ। कोरोना संक्रमण नियन्त्रणका निम्ति सुरुदेखि सरकारले गरेको प्रयास र यसका निम्ति तोकिएका व्यक्तिले प्रभावकारी भूमिका खेल्न सकेनन्। यो अनुभूति प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवश्यै भएको हुनुपर्छ। यसबाट पाठ सिक्दै स्वास्थ्य मन्त्रालयको नेतृत्व प्रभावकारी मन्त्रीलाई दिए हुन्छ।

त्यसैगरी मुलुकका स्वास्थ्य संरचना सुधार गर्नतिर लाग्नुपर्छ। आमनागरिकलाई स्वास्थ्य सेवा भरपर्दो छ भन्ने विश्वास भयो भने पनि समाजमा अमनचयन आउनेछ। स्वास्थ्य स्थितिको अनिश्चितताका कारण धेरैले अनाहकमा रकम जम्मा गर्नुपरेको छ। कोरोनाकै उपचारका क्रममा पनि देखियो, सरकारी संयन्त्रमा पुग्दा शून्य खर्च हुने उपचार निजी क्षेत्रका अस्पतालमा दशौँ लाख सकिएको छ।

यस कारण पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अहिलेको सरकारको ध्यान पुग्नुपर्छ। डा. गोविन्द केसीले अनशनका माध्यमबाट दिएको सन्देश यही हो। सबैले सजिलै स्वास्थ्य सेवा पाउने अवस्था सिर्जना गर्ने हो भने सरकारलाई अहिले जुन तहको दबाब झेल्नुपरेको छ, त्यसबाट मुक्ति प्राप्त हुनेछ।

हाम्रो उपनिषद्ले भन्छ– शरीरमाद्यं खलु धर्मसाधनम् (शरीर नै सबै कर्तव्य पूरा गर्ने साधन हो। अतः हामी सबैको शरीर स्वस्थ भयो भने नेपाल पनि स्वस्थ हुन्छ। समृद्धि त्यसैले ल्याउँछ।

नागरिक, १८ आश्विन २०७७ ०८:४८ आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *