यसो गरौँ यसपालि

‘बाटा बाटामा लास हुने दिन धेरै टाढा छैनन्,’ उनले गम्भीर हुँदै भने, ‘कोरोना नियन्त्रणलाई हामीले ख्यालठट्टाकै रूपमा लियौँ, यसको निकै महँगो मूल्य चुकाउनु पर्नेछ।’

मुलुकका एक प्रतिष्ठित चिकित्सकसँग हालै भएको अन्तरंग कुराकानीले मेरो दिमागमा घनले जस्तो ठोकिरहेको छ। विशेषज्ञ व्यक्तिहरूका कुरा हामीले किन राम्ररी सुनिरहेका छैनौँ ? यसको मूल्य निःसन्देह हामीलाई महँगो पर्नेछ।

उनी त्यस्ता प्रतिष्ठित चिकित्सक हुन् जसले अवसर पाउँदा आफ्नो जिम्मेवारी राम्ररी पूरा गरेका छन्। अहिले पनि बेलाबेलामा सरकारले उनीसँग सल्लाह लिएझैँ गर्छ। सरकार गम्भीर छैन भन्ने सबैलाई थाहा छ। कोरोना विषाणु नियन्त्रणका निम्ति सक्रिय स्वास्थ्य मन्त्रालयको संयन्त्रले वास्तवमै यसलाई ख्यालठट्टाकै रूपमा व्यवहार गर्दै आएको छ। त्यसको परिणाम भोग्न हामी अभिशप्त छौँ।

जतिबेला हामी कठोर बन्दाबन्दीमा थियौँ, त्यतिबेला हामीकहाँ बिरामी शून्यप्रायः थिए। त्योबेला हामीले हाम्रो रोग प्रतिरोध क्षमताको प्रशंसा गरेरै बस्यौँ। नेपालीका अगाडि कोरोनाको केही लाग्दैन भन्दै थियौँ। हाम्रो बेसारको व्यापक प्रशंसा भइरहेकै थियो। त्यो आत्मवञ्चनामै अल्झिएको समयलाई थोरै मात्र भए पनि तयारीमा लगाउन पाएको भए यतिबेला हामी आश्वस्त हुन पाउने रहेछौँ।

यतिबेला हामी जताततै निराशाको अवस्थामा छौँ। मुलुककै एउटा ठूलो निजी अस्पतालका एक जिम्मेवार चिकित्सकसँग टेलिफोनमै कुराकानी भयो। उनी यति धेरै आत्तिएका छन्, त्यो कल्पना उनको स्वरबाटै गर्न सक्छु।

‘हाम्रा आफ्नै चिकित्साकर्मी बिरामी भए भने पनि हामीले केही गर्न नसक्ने अवस्था भइसक्यो,’ उनले भने, ‘हामीसँग शैया पनि छैनन्, उपचारका निम्ति आवश्यक सुविधा र जनशक्तिको अभाव भइसकेको छ।’

मैले नियमितरूपमा अस्पतालका कोभिड वार्डहरूमा काम गर्ने चिकित्साकर्मीसँग पनि कुराकानी गरेको छु। हामीले अनुमान पनि नगरेको अवस्था अहिले त्यहाँ आइसकेको छ। कुनै एउटा बिरामी निको भएर जाँदा होस् वा धर्ती नै छाडेपछिको स्थिति होस् अर्को बिरामी त्यहाँ जान तयार छ। तिनलाई छिनछिनमा शैया खाली भए÷नभएकोबारे सोधिएको हुन्छ।

सबैले आफ्ना सामाजिक सञ्जालका भित्तामा वा आफ्नै घरको भित्तामा लेखौँ– कृपया यो वर्षको दसैँमा तपाईँ मेरो घर नआउनुहोला, म पनि आउँदिन।

हामीले यसअघि कहिल्यै स्वास्थ्यका बारेमा यति धेरै चिन्ता गरेका थिएनौँ। प्रदूषणका कारण महिनौँ खोक्दा पनि हामीलाई कसैले केही भन्दैनथ्यो। अहिले सार्वजनिक ठाउँमा रहेका बेला स्वाभाविकरूपमा खोकी लाग्यो भने पनि अस्वाभाविकरूपमा लिने अवस्था आइसकेको छ।

‘कतै मलाई कोरोना त लागेन ?,’ हामी हरहमेसा चिन्तामा पर्न थालिसकेका छौँ, ‘भर्खरै एउटा मानिसलाई भेटेको थिएँ, घाँटी खस्खसाउन थालेको छ।’

यस्तो विषम परिस्थितिमा हामी गुज्रिरहेका छौँ। सार्वजनिक ठाउँमा पुग्नासाथ हामी मास्क लगाइरहेका छौँ। आफूभन्दा अर्को व्यक्तिसँग कुरा गर्न मास्क नै चाहिने भएको छ। मास्कभित्र हामी गम्भीर छौँ वा हाँसिरहेका छौँ, त्यो अर्कोको सरोकारको विषय नै भएन। आँखामै हेरेर हामीले चित्त बुझाउने अवस्था छ। यो स्थितिले गर्दा हामीले हाँस्न बिर्सेजस्तो लागिसकेको छ।

सामाजिक सञ्जाल हेर्छु। एकपछि अर्को चिनेका व्यक्तिको सन्देश त्यसमा लेखिरहेका छन्– सावधानी अपनाउँदा अपनाउँदै मलाई कोरोना संक्रमण भएको छ। मेरो सम्पर्कमा आउनुभएका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

वास्तवमा कोरोनाबाट सुरक्षित हुन प्रत्येक व्यक्तिले कठोर परिश्रम गरेका छन्। अकल्पनीय मानसिक तनाव छ। छिनछिनमा हात धोऊ, स्यानिटाइजर लगाऊ, आफ्नो गति सीमित गर, कसैलाई नभेट आदि इत्यादि। हामीले अहिलेसम्म निर्वन्ध गर्दै आएका काममै रोकावट भएको छ। यसबीच हवाईजहाज नचढ्ने संख्या ठूलो छ। बाहिरफेर हिँड्न नपाउनेको संख्या उस्तै छ। यी सबैले अन्ततः व्यक्तिको मानसिकतामा सबैभन्दा बढी प्रभाव पारेको छ।

‘यति गर्दागर्दै पनि डाम्नाले हामीलाई छाडेन,’ एकजना अग्रजले लेखे। ‘डाम्ना’ शब्द सितिमिति पीडाले लेखिएको होइन। वास्तवमा कोरोना संक्रमण भइसकेपछि सम्बन्धित व्यक्ति र तिनका परिवारले बेहिसाब पीडा भोगेका छन्। वास्तवमा कोरोना संक्रमण एउटा बन्धनजस्तो हुन पुगेको छ। यसबाट आउने स्वास्थ्य समस्या ठूलो छ।

धेरैले अझै भन्ने गरेको सुनिन्छ– यसको मृत्यु दर ठूलो छैन, किन आत्तिने ?

कोरोना संक्रमणलाई संख्यामा मात्रै हेर्दा आत्तिनुपर्दैन। लाख बिरामी पर्दा हजारको पनि मृत्यु भएन भने ठूलो समस्या नमानिन सक्छ। तर सम्बन्धित परिवारका निम्ति यो ठूलो संख्या हो। एउटा परिवारका निम्ति एउटै व्यक्तिको मृत्युको अर्थ लाग्छ। कुनै कमाउनुपर्ने र परिवार पाल्नुपर्ने व्यक्ति नै कोरोनाको सिकार भयो भने तिनको जहाज डुबिहाल्यो नि।

स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिका निम्ति एउटा जीवनको अर्थ कति हुन्छ भन्ने राम्रो थाहा हुन्छ। अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउन तिनले गर्ने परिश्रम अत्यन्त बढी हुन्छ। तिनले एउटा व्यक्ति मात्र भनेर हेर्दैनन्। कालगतिले कुनै व्यक्तिको निधन हुनु र अनाहकमा बेला नआई जीवनबाट हात धुनुपर्ने अवस्था आउनु फरक हो। त्यसैले एक–एक जीवनको यहाँ अर्थ छ। तिनलाई बचाउन मुलुकको स्वास्थ्य सेवाको प्रयोग हुनुपर्छ।

यसपटक कोरोनाको ज्यादतिबाट बच्ने हो भने सबैले आफूलाई घरभित्र राख्नु उचित हुन्छ। टीकाटालो गर्न हिँड्ने हो भने अर्को वर्षको दसैँ मनाउन हामी यो धर्तीमा नरहन पनि सक्छौँ।

राज्यको यसमा दायित्व छ। स्वास्थ्य संस्थाको पनि उत्तिकै छ। अहिलेको विन्दुमा आइपुगेपछि व्यक्तिको भूमिका अझ बढी छ। हिजोसम्म बिरामी भइहालियो भने पनि जाउँला उपचारका निम्ति भन्ने अवस्था अब रहेन। स्वास्थ्य संस्थाहरू कोरोना संक्रमितको थामिनसक्नुको भीडमा परिसकेका छन्।

यो बेला हामीले केही बुद्धिमत्तापूर्ण निर्णय गर्ने कि ? मुलुकको ठूला संख्याले मान्ने चाडको मुखमा हामी छौँ। शनिबारदेखि सबैभन्दा लामो दसैँ पर्व सुरु भइसकेको छ। यसपटक कोरोनाको ज्यादतिबाट बच्ने हो भने सबैले आफूलाई घरभित्र राख्नु उचित हुन्छ। टीकाटालो गर्न हिँड्ने हो भने अर्को वर्षको दसैँ मनाउन हामी यो धर्तीमा नरहन पनि सक्छौँ।

अतः यो दसैँका बेला कसैले पनि कसैलाई भेट्न नजाने तयारी अहिलेदेखि नै गर्नु उचित हुन्छ। सबैले आफ्ना सामाजिक सञ्जालका भित्तामा वा आफ्नै घरको भित्तामा लेखौँ– कृपया यो वर्षको दसैँमा तपाईँ मेरो घर नआउनुहोला, म पनि आउँदिन। हेर्न र कुरा गर्न मन लागे ह्वाट्सयाप, भाइबर, टेलिफोन वा यस्तै माध्यमलाई अघि सारौँ। यसपालिको चाडमा हामीले एकअर्कालाई नभेटेर वा टीका नथापेर केही बिग्रँदैन। अर्कोपटक फेरि हामी भेटिहाल्छौँ।

कोरोनाका सन्दर्भमा एउटा कुरालाई ध्यानमा राख्नुपर्ने रहेछ– मबाहेक सबै मानिस गैरजिम्मेवार छन्। यसो गर्दा दुई फाइदा हुन्छन्– एक, तपाईँले आफूलाई बढ्ता महत्व दिनुहुन्छ। दुई, अरूलाई कोरोना संक्रमणको कारक तपाईँ बन्नुहुन्न।

धेरै व्यक्तिलाई यसपटक फलाना मेरो साथी हो, मेरो नातेदार हो, मैसँग काम गर्ने व्यक्ति हो भनेर भेटघाट गर्दा संक्रमण भएको छ। अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी आदिलाई बाहिर निस्किनुपर्ने बाध्यता छ। तिनले मानिस भेट्नैपर्छ। तर सकेसम्म तिनले पनि कम व्यक्ति मात्र भेट्नुपर्ने भयो भने संक्रमण कम हुन्छ।

त्यसैले आफूबाहेक अरू कसैलाई पनि विश्वास नगरी कोरोना संक्रमणबाट जोगिने काम गर्नु उचित हुन्छ। अबका केही साता आफूलाई कठोर बनाउने र सावधानीलाई ध्यानमा राख्ने हो भने संक्रमण घट्छ। अहिले संक्रमणसँगै यसले ल्याउने अनाहकका हैरानीले गर्दा पनि यसलाई लुकाउने प्रवृत्ति विकास भइरहेको छ। त्यसकारण पनि सकेसम्म सार्वजनिक सम्पर्कमा नजानु उचित हुन्छ। यसो गर्न सकियो भने हामी सुरक्षित हुने मात्र होइन सीमित स्रोतसाधनको प्रयोग अत्यावश्यक बिरामीका निम्ति प्रयोग हुन्छ।

सुरुमै उल्लेख गरिएका ती चिकित्सकले यत्तिकै बाटाबाटामा लास पर्न सक्छ भनेका होइनन्। उनले सुरुदेखि अहिलेसम्मको स्थितिलाई निकटबाट नियालिरहेका छन्। जहिल्यै यसो गरौँ र उसो गरौँ भनिरहेका छन्। तर, त्यसरी काम भइरहेको छैन। हामीसँग सुविधा छैन भन्ने जान्दाजान्दै बिरामी थप्ने काममा हामी लाग्नु उचित हुन्न। यो हुलमुलमा जीउ जोगाउनतिर लागौँ। यसपालि यसो गरौँ न, हुन्न ?

नागरिक, २ कार्तिक २०७७ १०:२४ आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *