स्वास्थ्य, सम्बन्ध र सौन्दर्य सिरेटो

काेराेना कुइनेटाे

कोरोना विषाणु कहरबीच हामी बाँच्न थालेको झन्डै एक वर्ष हुन लागेको छ । यो भोगाइले हरेक व्यक्तिको जीवनमा बहुआयामिक प्रभाव पारेको छ । यसका सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी देखिएका छन् । यसो गम्ने हो भने यसले हाम्रो जीवनमा अनेकन् सकारात्मक छाप पनि छाडिरहेको छ ।

हाम्रो दैनिक भागदौडको जिन्दगीमा कोरोना कहरले केही फरकपन ल्याइदिएको छ । दैनिक दौडादौडमा समय बितिरहेका बेला हामीलाई एकै छिन भए पनि आफ्नै बारेमा चिन्तन गर्न मौका दिएको छ ।

कोराना रोकथाम तथा नियन्त्रणका लागि विश्वले नै बन्दाबन्दी ग-यो । त्यसबीचमा धेरै मानिसले आफूलाई घरमै सीमित राखे । बन्दाबन्दी हटिसकेपछि पनि कैयौँ मानिस अझै घरभित्रै बसेका छन् । उनीहरू कोरोना विरुद्धको खोपको व्यग्र प्रतीक्षामा छन् । खोप आएपछि जीवन सुरक्षित हुन्छ भन्ने धेरैलाई अहिले लागिरहेको छ ।

यसबीच भीडभाडमा नगई, भीडभाड नगरी घरमै बस्दा धेरै मानिसले मानव जीवनको सार्थकताबारे बुझ्ने मौका पाएका छन् । धेरै मानिसले आफ्नो जीवनका निम्ति अत्यावश्यक सीप सिकेका छन् । कैयौँले योग–ध्यानजस्ता पक्षमा आफूलाई लगाएको पाइएको छ । टोलछिमेकमा अचेल ओमकार ध्वनि सुनिन थालेको छ । यसले हाम्रो दैनिक चर्यामा समेत परिवर्तन ल्याएको छ ।

दैनिक दौडमा लाग्नु छँदै छ, त्योभन्दा बढी आफ्नो स्वास्थ्य सुधार गर्नुपर्छ, त्यसका निम्ति ध्यान–योग, दौड, अन्य शारीरिक अभ्यास गर्नुपर्छ भन्ने सोचको विकास गरेको छ । विगत वर्षभन्दा अहिले बिहान–बिहान सडकमा दौडिने धेरै देखिन थालेका छन् । कोरोनाले फेरि जीवनको महत्ता पो झल्काइदिएछ ।

विज्ञानका बारेमा समेत धेरैलाई चासो राख्न बाध्य पारेको छ । हामीले जीवनमा सायदै खोपको विकासबारे अहिले जति चासो राखेका थियौँ । खोप बनाउन कति प्रक्रिया हुन्छन् भन्ने थाहा पायौँ हामीले ।

अब के होला भन्ने चिन्ताभन्दा चिन्तन गर्नुपर्छ भन्ने भावना बढ्न थालेको छ । भनिन्छ, चिन्ताले चिताजस्तै जलाउँछ । त्यसैले चिन्ता होइन, चिन्तन गर्नुपर्छ ।

कोरोनापछिको समय कस्तो होला भनी धेरै लेखक, चिन्तक आदिले विश्लेषण गर्दै आएका छन् । त्यति मात्र होइन, यस विरुद्धको खोप बनाउन सबैभन्दा छिटो काम भएको छ । स्वास्थ्य क्षेत्रमा मात्र होइन, जीवनका अनेकन् आयाममा यसले प्रभाव पारेको छ ।

स्वास्थ्य सचेतता
कोरोना विषाणुका कारण यो वर्षभरि सबैभन्दा धेरै चर्चा भएको विषय स्वास्थ्य हो । कसरी आफू र आफ्ना प्रियजनलाई सुरक्षित राख्ने भन्ने विषयमा प्रत्येक व्यक्तिले आफ्नो समय व्यतीत गरेका छन् । सम्भवतः मानिसले स्वास्थ्यका बारेमा यति धेरै कुरा गरेका थिएनन् ।

प्रायः कोही मानिसलाई भेट्दा सोध्ने गरिन्छ, सञ्चै हुनुहुन्छ ? जवाफमा बिसञ्चै भए पनि भन्ने गरिन्छ– ठीक छ ।

कोरोना कहर आइसकेपछि भने धेरैले आफूलाई सञ्चो नभएको सार्वजनिक रूपमै भन्नुपर्ने अवस्था आयो । ‘सावधानी अपनाउँदा अपनाउँदै पनि डाम्नाले डसिछाड्यो’ एक वरिष्ठ पत्रकारले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए । यसको अर्थ हो– आफूलाई यसले प्रभाव पारिहाल्यो, अरू यसको प्रभावमा नपरून् । यो अभिव्यक्तिमा कोरोना संक्रमण भएपछिको पीडाको अनुभूति पनि छ ।

रोग लाग्नुको पछाडि खानपान, निद्रा, व्यायाम लगायतको भूमिका रहन्छ । रोग लागिहाल्यो भने यसबाट मुक्तिका निम्ति निरन्तर प्रयत्न गरिन्छ । कोरोना कहरले भने हामी सबैलाई दिएको एउटा शिक्षा हो, रोग लाग्नै नदिनु जीवनको पहिलो अभीष्ट हुनुपर्छ ।

आहारविहार
अंग्रेजीमा एउटा भनाइ छ– ‘यु आर ह्वाट यु इट’ अर्थात् तिमी जस्तो खान्छौं त्यस्तै हुन्छौ । कोराना विषाणु संक्रमणसँगै हामी सबैले सिकेको कुरा हो– शरीरको रोग प्रतिरोध क्षमता बलियो बनाउनुपर्छ ।

शरीरको रोग प्रतिरोध क्षमता राम्रो पार्न खानेकुराको महत्व ठूलो छ । त्यसैले भन्ने गरिन्छ, खानालाई औषधिका रूपमा उपयोग गरियो भने औषधिको जरुरत पर्दैन ।

बन्दाबन्दीका क्रममा धेरै मानिस घरमा बसेका कारण एकले अर्काको सोख, रुचि, आनिबानी, समस्या बुझ्न मद्दत मिलेको छ । घरबाहिर गएर काम गर्ने र घरैमा बस्नेका बीचको तालमेल यो परिस्थितिले मिलाइदिएको छ ।

हाम्रा जडिबुटी, हामीले खाने खाना, मसला आदिको योबीचमा धेरै चर्चा भएको छ । मौसमी फलफूल खायो भने त्यसैले मानिसलाई रोगसँग लड्ने क्षमता दिन्छ भन्ने पनि योबीचमा हामीले सिक्यौं । यस्ता धेरै विषय थिए, जसलाई हामीले बेवास्ता गरेका थियौँ । त्यसैले अहिले धेरै मानिसले खानपानमा विशेष जोड दिन थालेका छन् । यो अभ्यासले निःसन्देह भविष्यमा धेरै मानिसको जीवन स्वस्थ अभ्यासतर्फ उन्मुख हुनेछ ।

नियमित निर्मलीकरण
हामीमध्ये देश–विदेश घुमेका केही व्यक्तिलाई मात्र सेनिटाइजर लगाएर हात सफा गर्नुपर्छ भन्ने जानकारी थियो । हामीमध्ये कैयौँले कोरोनाबाट जोगिन हातमा सेनिटाइजर लगाएर सफा गर्नुपर्छ भन्ने थाहा पायौं ।

कोरोना खोप आए पनि अझै केही वर्ष हामीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हात सफा गर्दै रहनुपर्छ भन्ने सुझाव विज्ञ समुदायबाट आइरहेको छ । काठमाडौं मास्कका निम्ति पहिल्यैदेखि परिचित थियो । विशेषगरी हिउँदमा काठमाडौंको प्रदूषण तह बढेर बिरामी बनाउने अवस्था आउन थालेपछि प्रायः सडकमा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता हुन्छ ।

एकपटक साहित्य सम्मेलनका लागि काठमाडौं आएका एकजना विदेशी लेखकलाई यहाँ मास्क लगाउने चलन देखेर अनौठो लागेको रहेछ । नेपालीको सुन्दर अनुहार मास्कमा छोपिएको देखेर उनलाई दिक्क लागेको हुनुपर्छ ।

अहिले भने हामी सबै मास्कमै हिँडिरहेका छौँ । सडकमा कसैले मास्क नलगाई हिँडेको देख्यौँ भने हामीलाई लाग्छ, कस्तो मूर्ख रहेछ ! हेर्दाहेर्दै हाम्रा निम्ति मास्क अनिवार्य भएको छ । कसैको सुन्दरता हेर्न अचेल हामी ओठ होइन, आँखा हेर्न अभ्यस्त हुँदै छौँ । हुँदाहुँदा कैयौँपटक सपनामा मास्क हराएर हैरान भइसकेँ म त ।

हाम्रो दैनिक अत्यावश्यक सामग्री सूचीमा अब मास्क, सेनिटाइजर आदि पर्न थालिसकेका छन् । एक मानिसबाट अर्को मानिसमा संक्रामक रोग सर्छ भन्ने शिक्षा दिन पनि कोरोना विषाणु सफल भएको छ । हामीले विगतमा पनि अरूले खाएको जुठो खाने गरेका थिएनौँ । अहिले आएर हाम्रा पुर्खाले ठीकै गरेका रहेछन् भन्ने अनुभूति हुन थालेको छ ।

अहिले कोरोना जोखिमबाट जोगिन मात्र हाम्रा व्यवहारले मद्दत गरेको छैन, विगतमा हामीलाई निरन्तर लागिरहने रुघाखोकी आदिबाट समेत अहिले छुट्कारा मिलेको छ । भावी दिनका अभ्यासले हामीलाई स्वस्थ जीवन बाँच्न मद्दत गर्नेछ । कोरोना संक्रमणपछि बन्दाबन्दी र त्यसपछि सामान्य अवस्थातर्फ फर्किन गरिरहेको अहिलेको अभ्यासलाई ‘न्यु नर्मल’ अर्थात् ‘नवीन सामान्यीकरण’को रूपमा चित्रण गरिएको छ । यो अभ्यास भावी दिनसम्म हामीबीच बहाल रहने निश्चित छ ।

सुध्रिँदो सम्बन्ध
बन्दाबन्दीका क्रममा धेरै मानिस घरमा बसेका कारण एकले अर्काको सोख, रुचि, आनिबानी, समस्या बुझ्न मद्दत मिलेको छ । घरबाहिर गएर काम गर्ने र घरैमा बस्नेका बीचको तालमेल यो परिस्थितिले मिलाइदिएको छ । घरैमा बसेर अफिसको काम गरिरहेको देख्ने परिवार सदस्यलाई उसको महत्व स्थापित गरेको छ । त्यसैगरी घरै बसेर धेरै काम गरिरहेका परिवारजनले आफ्नो समय कति धेरै उपयोग गरेका छन् भन्ने पनि यसबाट देखियो ।

बन्दाबन्दीका क्रममा घरका मानिससँग निकट र बाहिर साथीभाइसँग छुट्टिएर बस्नुपर्ने अवस्था थियो । यसले मानवीय सम्बन्धमा परिवर्तन ल्याउने आकलन भइरहेको छ । बन्दाबन्दीको पहिलो अभ्यास गर्ने मुलुक चीनमा भने सम्बन्ध विच्छेदका घटना बढेका छन् । त्यस्तो कुनै स्थितिबारे हाम्रो मुलुकमा अध्ययन भएको छैन ।

तथापि, हाम्रो समाजका धेरैले बन्दाबन्दीका क्रममा परिवारसँगै बसेर खाना बनाउने अभ्यास गरेका छन् । जिन्दगीमा भान्छाकोठामा छिर्न नचाहने व्यक्तिले समेत परिकार बनाएर सामाजिक सञ्जालमा प्रस्तुत गरेको देखिएको छ ।

जुन परिवारमा खानलाउनको दुःख थिएन, त्यहाँ भने बन्दाबन्दीले खुसियाली ल्याएको अनुभव धेरैलाई भएको छ । यसले आपसी विश्वास र सद्भाव बढाएको छ । यसले परिवार पहिलो प्राथमिकतामा पर्छ भन्ने बोध समेत गराएको छ । कतिपय परिवारका सबै सदस्यलाई कोरोना विषाणु संक्रमण भएको पनि देखिएको छ । परिवारमा पनि दूरी राख्नुपर्ने रहेछ भन्ने यसले देखाएको छ । परिवारका जिम्मेवार सदस्यले आफू यसबाट जोगिने र परिवारलाई नै जोगाउनुपर्ने रहेछ भन्ने ज्ञान समेत दिएको अनुभूति हुन्छ ।

प्रविधि प्रसार
हामी नेपाली ‘ल्यान्ड लाइन’ फोन समेत चलाउन नपाई एकैचोटि मोबाइल फोन उपयोग गर्ने युगमा प्रवेश गरेका हौँ । हामीमध्ये कैयौँलाई मन्त्रीको ‘सोर्सफोर्स’ लगाएर टेलिफोन जडान गरेको अनुभव छ । मोबाइल फोनको आगमनसँगै टेलिफोन उपयोग गर्न पाउने र नपाउने वर्ग भेद मेटिएको हो ।

मोबाइल फोनले हातहातमा टेलिभिजन, रेडियो, पत्रपत्रिका र अन्य मनोरञ्जन पु¥याइसकेको छ । यो नयाँ प्रविधिसँगै विचार निर्माणका नयाँ खेलाडी पनि उपस्थित भइसकेका छन् । सूचना र सञ्चारको परिदृश्य पनि बदलिएको छ ।

यो प्रविधिलाई दैनिक कामकाजमा लगाउन कोरोना विषाणुले हामीलाई प्रेरित गरेको छ । हिजोसम्म हामीलाई बैठक गर्न मानिस भेटिनैपर्छ भन्ने थियो । आज हाम्रा घरका बैठक कोठा विश्व परिदृश्य मञ्चमा चित्रित हुने अवस्था आएको छ । जुम, ब्लुजिन्स, स्काइप लगायत अनेकन् माध्यमबाट बैठक भइरहेका छन् ।

यी माध्यमबाट बैठक मात्र होइन, दैनिक काम भइरहेका छन् । यसले भविष्यमा प्रत्येक घरमा एउटा पूजाकोठा भएजस्तै बैठककोठा बनाउन प्रेरित गर्नेछ । अप्ठेरो अवस्थामा घरैबाट काम हुने भएपछि अफिस कोठाहरू बिस्तारै खुम्चिन सक्छन् । हामीकहाँ विगतमा दैनिक बन्द हुँदा ‘वर्क फ्रम होम’को नीति आउन पाएको भए धेरैलाई कति सजिलो हुँदो हो ।

कक्षा कोठालाई घरको बैठक कोठासम्म पु-याउन अहिले प्रविधिको प्रयोग भयो । जसले प्रविधि उपयोग गरे, तिनका निम्ति घरै बसेर पनि शैक्षिक उन्नयन भइरहेको छ । योबीच ‘अटेनियो डे मनिला युनिभर्सिटी’को पत्रकारिता विभागका एक शिक्षकसँग मेरो जुम मिटिङ भएको थियो । उनीहरू गत वर्ष अप्रिलदेखि अहिलेसम्म अफिस गएका छैनन् । कसैलाई विश्वविद्यालय जानुपर्ने भयो भने एक घन्टाको अनुमति माथिल्ला निकायबाट लिनुपर्छ । राजधानी काठमाडौंमै पनि कतिपय पश्चिमा राजदूतावास विगत आठ महिनादेखि घरैबाट चलिरहेका छन् ।

वास्तवमा यो सबै पक्ष सूचना प्रविधिलाई मात्र अगाडि बढाउन प्रेरक छैन, विज्ञानका बारेमा समेत धेरैलाई चासो राख्न बाध्य पारेको छ । हामीले जीवनमा सायदै खोपको विकासबारे अहिले जति चासो राखेका थियौँ । खोप बनाउन कति प्रक्रिया हुन्छन् भन्ने थाहा पायौँ हामीले ।

कोरोना विषाणु संक्रमणसँगै हामी सबैले विशेषज्ञ, चिकित्सक आदिका कुरा सुनेका छौँ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म तिनै व्यक्ति लोकप्रिय भएका छन्, जसले विज्ञानसम्मत् कुरा गरेका छन् । कोरोना संक्रमणपछि सञ्चार माध्यमले यससँग सम्बन्धित विषयलाई बढी चर्चामा ल्याएका छन् । सूचना प्रविधि र विज्ञानको अहिलेको जस्तो उपलब्धि नहुँदो हो त मानव जीवन जोगाउन अझ कठिन हुने थियो ।

नाागरिक १३ मंसिर २०७७ १०:४९ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *