चरित्र चित्रण

यसपटक दुईवटा अन्तर्राष्ट्रिय प्रसंग नेपालका निम्ति चर्चित रहे। पहिलो, प्रधानमन्त्री केपी शर्मा ओलीको नामै किटान गरी ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक भयो। दोस्रो, बेवारिसे लासको अन्तिम सद्गत गरेका कारण बिबिसीले चित्रण गरेका सय महिलामध्येमा एक जना सपना रोका मगर नेपालबाट परिन्।

यी दुई घटनाले नेपाललाई कस्तो मुलुकका रूपमा चित्रण गरिरहेका छन् ? पहिलोले यो मुलुकमा सरकार प्रमुखमाथि समेत भ्रष्टाचारका मुद्दामा ढाकछोप गरेको आरोप लागेको छ। ओली यस्ता प्रधानमन्त्री हुन्, जसले यहाँ कोही पनि भोको पर्दैन भन्ने दाबी गर्दै आएका छन्। उनैले दाबी गरेका छन्– यहाँ सडकमा कुनै व्यक्ति बेवारिसे छैन।

मगरले सडकमा बेवारिसे लासको यथोचित सद्गत आफ्नै मनको शान्तिका निम्ति गर्दै आएको बताएकी छन्। सय प्रभावशाली महिलामध्ये एक हुने मौका तिनैलाई प्राप्त भएको छ जो सडकका बेवारिसे लासको अन्तिम संस्कार गर्छिन्। यत्रो ठूलो समस्या नहुँदो हो त तिनलाई लासको व्यवस्थापन गर्ने प्रेरणा प्राप्त हुने थिएन। तिनले यस्तो पवित्र कार्य नगरेकी भए सय प्रभावशाली महिलामा आफ्नो नाम लेखाउने थिइनन्।

हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय पुरस्कार वा मान्यता केका निम्ति प्राप्त हुन्छ ? अनुराधा कोइराला सिएनएन हिरो केका कारण भइन ? चेलिबेटी बेचबिखन हुन नदिन सक्रियता देखाएका कारण उनलाई यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त भएको हो। हाम्रा निम्ति अन्तर्राष्ट्रिय सम्मान आउँदाआउँदै पनि यहाँ विद्यमान समस्याका बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी पनि भइरहेको छ।

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको काम यतिबेला नेपाली सेनाका महिला सैनिकले पाएका छन्। यतिबेला संसारभरिका सञ्चार माध्यमको ध्यान उनीहरूले सम्हालेको यो विशेष जिम्मेवारीतिर गइरहेको छ। महिलालाई यस्तो जिम्मेवारी विगतमा नदिइने गरिएकामा अहिले उनीहरू विरासत परिवर्तनमा लागिरहेका सन्देश गएको छ। यसबाट गएको सन्देश हो– नेपालमा अहिले पनि महिलालाई समान अवसर छैन।

अहिले सरकार ठीकठाक चलेको भए, विकास निर्माणले गति लिएको भए र आमनागरिकले आशा गर्ने ठाउँ पाएका भए राजावादीका नाममा आन्दोलन हुने थिएनन्।

संसारले हामीलाई अहिले पनि समाचारमा ‘इम्पोभरिस’ (गरिब) मुलुक भनेर चित्रण गर्छ। हामीले आफूलाई गरिब होइनौँ भनेर दाबी गर्न पनि सक्दैनौँ। हाम्रा बारेमा बाह्य जगतले गर्ने चित्रणमा कहिल्यै पनि यहाँको प्रगति वा समृद्धि पर्दैन। दशौँ वर्ष ‘ब्लडी वार’ (रक्तपातपूर्ण युद्ध) भइरहेको मुलुक भनेर हामी चित्रित भइरह्यौँ।

आखिर हाम्रो यही छवि रूपान्तरणका निम्ति पनि हामीले निरन्तर राजनीतिक परिवर्तन चाहेको हो। खासगरी योपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आममतदाताले बलियो सरकार चलाउने जिम्मेवारी दिएका हुन्। पटक–पटक मौका पाएको नेपाली कांग्रेसबाट काम भएन, मुलुकलाई गति दिने शक्ति नेकपालाई बनाऔँ भन्ने नेपालीको जनादेश हो।

नेकपालाई जिम्मेवारी दिनुको एउटै मात्र कारण हो– अस्थिरता। यो मुलुकमा सधैँ अस्थिरता रह्यो। त्यही अस्थिरताले गर्दा समृद्धि प्राप्त हुन सकेन। त्यसैकारण नेकपालाई यसपटक यो जिम्मेवारी दिएर कार्यभार पूरा गराऔँ भन्ने नेपाली जनताको आकांक्षा हो। जनताले दिएको यो जिम्मेवारी न ओलीलाई हो न नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई हो। यो जिम्मेवारी पूरा गर्ने अन्तिम दायित्व नेकपाको हो। नेकपाले जसलाई जिम्मेवारी दिएर यो काम पूरा गराउँछ गराओस् भन्ने पनि तिनको अभीष्ट हो। निर्वाचनमा व्यक्तिको अनुहार हेरिएन।

यहाँ प्रधानमन्त्री वा पार्टी अध्यक्ष आमनागरिकबाट निर्वाचित हुँदैनन्। प्रधानमन्त्री निर्वाचन गर्ने संसदीय दलले हो। पार्टी अध्यक्ष त्यही दलभित्रका सदस्यले। तर मत भने आमनागरिकले सम्बन्धित दलको निर्वाचन चिह्नमा दिएका हुन्। दलले निर्वाचन जितेका बेला जस्तासुकै व्यक्तिले सजिलै जित्न सक्छन्। जुन गत निर्वाचनका बेला हामीले देख्यौँ।

अहिले परिस्थिति अत्यन्त विषम भएर गएको देखिएको छ। दुईतिहाइको शक्ति पाएको नेकपाले जिम्मेवारी पूरा गर्न सकेन। त्यसैगरी प्रमुख विपक्षको भूमिकामा बस्न जिम्मेवारी पाएको नेपाली कांग्रेसले पनि जिम्मेवार भएर देखाउन सकेन। एकातिर, कोरोना संक्रमणले गर्दा संसारभरिका सरकारहरू कमजोर देखिन थालेका छन्। अर्काेतिर, आफ्नै अव्यवस्थाका कारण हामीकहाँ प्रमुख दलसमेत कमजोर हुन थालेका छन्। यसले अन्ततः हाम्रो राजनीतिक प्रणालीलाई नै घात गर्ने अवस्था आउँदैछ।

मुलुकले राजाका ठाउँमा राष्ट्रपति पाएको छ। जनताका छोराछोरी त्यो पदमा पुग्न सक्ने अहिलेको व्यवस्था हुँदाहुँदै किन राजाको खोजी हुन थालेको छ ? कारण प्रष्ट छ– त्यो पदको गरिमाअनुसार काम भएको छैन

त्यसको लक्षण पनि देखिन थालेको छ। यो मुलुक राजाप्रति आशावादी होइन। अहिले आएर फेरि राजावादीका जुलुस देखिन थालेका छन्। राजा फ्याँकिएका मुलुकमा आमनागरिकले दर्जनौँ भुरेटाकुरे राजा देखिसकेपछि पुराना दिनको झझल्को आउनु स्वाभाविक हो। आखिर राजाकै ठस्सा हेर्नुपर्ने हो भने उही कुलिन परिवारकै व्यक्तिलाई किन राजा नबनाउने ?

वास्तवमा हामीले खोजेका नेता हाम्रा शासक थिएनन्। तिनले हाम्रै भावना बोलून्, हाम्रै भान्छामा खाउन् र हाम्रा सुखदुःखमा साथी बनून् भन्ने हो। तर ती विस्तारै टाढिए। तिनको भद्दा नक्कलले पुराना राजाको झझल्को आयो। बाघको मुख हेर्न परे घरैको बिरालो हेर्नू भनेजस्तो भयो।

अस्थिरता कसरी आउँछ ? अलिकति निकट विगततिर हेरौँ। २०४६ सालको परिवर्तनपछि बनेका सरकारका कामकारबाही र व्यवहारले आमनागरिकमा वितृष्णा सिर्जना गरेको थियो। त्यसमा पनि २०५१ सालमा त्रिशंकु संसद् बनेपछि भएको सांसद किनबेच र संसद्भित्रको विकृतिले अन्ततः माओवादी ‘जनयुद्ध’ का निम्ति आधार तयार पारिदिएको थियो।

बहुदलीय शासन व्यवस्था आएपछि विकृति नभई आमनागरिकलाई चित्त बुझ्नेगरी काम होला भन्ने थियो। त्यसरी काम नभएपछि प्रत्यक्ष÷परोक्ष माओवादीका निम्ति अनुकूल वातावरण बन्दै गएको हो। त्यसैको परिणामस्वरूप दश वर्षसम्म मुलुकले बाटो बिरायो। ठूलो धनजनको क्षति भयो। आज नेकपा (एमाले)कै जस्तो राजनीतिमा माओवादी आइपुगेको मात्र होइन त्यसैमा समाहित हुने अवस्था रह्यो। अहिले आएर नेकपामा तिनै दुई समूहको विवाद भइरहेको छ।

कोरोनाका कारण अहिले धेरैले रोजगारी गुमाएका छन्। व्यापार÷व्यवसाय चौपट भएको छ। यसैका कारण धेरैको मन ठीक ठाउँमा छैन। यस्तो बेलामा सरकार र पार्टी सञ्चालन आमनागरिकका अपेक्षा पूरा गर्ने गरी हुन नसकेपछि त्यसले अर्को द्वन्द्वका निम्ति वातावरण बनाउँछ। अहिले राजावादीका नाममा देशभरि हुन थालेका आन्दोलन त्यसैको परिणाम हुन्। अहिले सरकार ठीकठाक चलेको भए, विकास निर्माणले गति लिएको भए र आमनागरिकले आशा गर्ने ठाउँ पाएका भए यस्ता आन्दोलन हुने थिएनन्। अब रिसैरिसमा धेरै मानिस त्यता लाग्ने अवस्था आउँछ। हिजो कांग्रेस र एमालेको रीसले माओवादी जागेको थियो। आज नेकपा र कांग्रेसको अकर्मण्यताबाट राजावादीका निम्ति वातावरण बन्न थालेको देखिएको छ।

मुलुकले राजाका ठाउँमा राष्ट्रपति पाएको छ। जनताका छोराछोरी त्यो पदमा पुग्न सक्ने अहिलेको व्यवस्था हुँदाहुँदै किन राजाको खोजी हुन थालेको छ ? कारण प्रष्ट छ– त्यो पदको गरिमाअनुसार काम भएको छैन। अझ त्यो पदलाई पार्टीको आन्तरिक विवाद मिलाउनका निम्ति प्रयोग हुन थालेको छ।

कांग्रेसको शुक्रबार भएको पदाधिकारी बैठकमा राजावादी आन्दोलनका बारेमा समेत चर्चा भएको थियो। राष्ट्रपति संस्था निष्पक्ष हुनुपर्नेमा गुटगत गतिविधि गरेका कारण राजावादी आन्दोलन हुन थालेको भन्ने प्रसंग चर्चासमेत भएका छन्। वास्तवमा अहिले मुलुकमा संस्था निर्माण गर्ने बेला छ। यो बेला गरिने हरेक अभ्यासले लोकतन्त्रलाई बलियो बनाउँछ।

आमनागरिकको जीवनस्तर नउठाई लोकतन्त्र पनि टिक्दैन। ३० वर्षमा पञ्चायत पनि ढलेको थियो। यो मुलुकमा प्रजातन्त्र र लोकतन्त्रको अभ्यासका पनि ३० वर्ष पुगिसकेका छन्। अहिलेकै जस्ता अभ्यासले लोकतन्त्र बलियो हुँदेन। मानिसको स्वभावै यस्तै हो– पोहोरभन्दा अहिलेको हिउँदमा बढ्ता जाडो लाग्छ। हिजोका निरंकुशताको ठिही बिर्सिसकेका कारण फेरि तिनै दिन सुखद लाग्नु स्वाभाविक हो।

नागरिक, २१ मंसिर २०७७ ०८:५८ आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *