अस्थिरतातर्फ अग्रसर

‘आज मैले अलिक निराशाजनक कुरा गरेँ,’ नागरिकलाई शनिबार अपराह्न अन्तर्वार्ता दिइसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलको प्रतिक्रिया थियो, ‘(नेकपा)को एकता सुरक्षित राख्छौँ भन्ने सक्ने अवस्था छैन।’

प्रायः महासचिव पौडेलबाट निराशाजनक कुरा सुनिँदैनथ्यो। नेकपाभित्र विवाद सुरु भएपछि उनी निरन्तर समस्या समाधानमा लागिरहेको देखिएको पनि हो। यसबाहेक पार्टीभित्र कोही कुन गुटको कोही कुन गुटको भनेर चिनिए पनि प्रायः सबैले कुराकानी गर्ने सहज व्यक्तिका रूपमा उनैलाई लिएको देखिन्छ। त्यसक्रममा उनी सबैजसो नेताकहाँ पुग्छन्। र, तिनका व्यवहार र प्रतिक्रियाकै आधारमा उनीबाट यो निराशा निस्किएको हो।

महिनौँदेखि नेकपा विवादमा छ। अब यो दल एक हुँदैन वा कुनै ठूला राजनीतिक दुर्घटनको संघारमा उभिएको छ भन्ने महसुस राजनीतिक वृत्तमा भइरहेको पनि हो। यसकारण हामीले पौडेलसँग अन्तर्वार्ताका निम्ति आग्रह गरेका थियौँ। अन्तर्वार्ता शनिबार लिए पनि त्यसको केही अंश आइतबार प्रकाशित गरी विस्तृतरूपमा सोमबार छाप्ने गरी तयार पारेका थियौँ ।

नेकपा विवादको उत्कर्ष सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि प्रकट भइसकेको छ। प्रधानमन्त्रीको सिफारिसलाई भण्डारीले तत्कालै कार्यान्वयन गरिसकेकी छन्। विघटनको विरोध नेकपामा ओली विरोधी खेमाको नेतृत्वबाट तत्कालै भएको छ।

नेकपा सचिवालयका नौ जना नेतामध्येका एक पौडेल भने अन्य युवा नेतासँग मिलेर समस्या समाधान गर्नतिर लागिरहेको देखिएको हो। हामीले अन्तर्वार्ता गरेर निस्कँदै गर्दा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल र घनश्याम भुसाल उनको निवासतिर लागिरहेका थिए। त्योभन्दा अघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग उनकै खुमलटार निवासमा पुगेर भेट गरेका थिए। त्यसलगत्तै उनी मन्त्रिनिवास पुल्चोक पुगेरसमेत भेटघाट गरेको देखिएको छ।

प्रधानमन्त्रीको दिनभरिको राजनीतिक भेटघाट र सक्रियताबाट उनी निकै अप्ठ्यारोमा परेको बुझ्न सकिन्थ्यो। त्यो अप्ठ्यारो स्थितिको निकासका रूपमा उनले संसद् विघटनको विकल्पलाई यति सजिलै अपनाउलान् भन्ने धेरैलाई लागेको थिएन। संविधानले नै प्रधानमन्त्रीलाई संसद् विघटनको विकल्प सहज नपारेको स्थितिमा यस्तो राजनीतिक कदम चाल्न तत्पर भएका छन्। त्यसो त उनी संसद् विघटनको विकल्पसम्म पुग्न सक्छन् भन्ने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको थियो।

नेकपाभित्रको विवाद बढ्दै जाँदा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्न दबाब परिरहेको हो। खासमा अर्का अध्यक्ष दाहालमा प्रधानमन्त्री पदका निम्ति लालसा भएको पनि हो तर ओली यी दुवै पद छाड्न तयार भएनन्। यी पद छाड्नुभन्दा राजनीतिक दुर्घटनातर्फ जानु उचित हुन्छ भन्ने उनलाई लागेको देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेका छन्। नेकपाले झण्डै दुईतिहाइ बहुमत पाएपछि मुलुकमा स्थिर सरकार बन्छ र यसले देशलाई समृद्धितिर लैजान्छ भन्ने आशामा तुषारापात भएको छ। नेकपाभित्रको आन्तरिक रस्साकस्सीले स्थिर सरकारको अपेक्षालाई खण्डित गरिसकेको हो।

ओलीको यो कदमले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एकमना सरकारको संसद् विघटनको घटनालाई सम्झाइदिएको छ। त्योबेला दलभित्रै ३६से र ७४रे समूहका कारण सरकारको नीति तथा कार्यक्रम संसद्मा असफल भएको थियो। त्यो स्थितिमा उनले ताजा जनादेशका निम्ति मध्यावधि निर्वाचनमा मुलुकलाई धकेलेका थिए। त्यसैको परिणामस्वरूप २०५१ सालमा त्रिशंकू संसद् बनेको थियो र मनमोहन अधिकारीलाई अल्पमतको सरकार गठन गर्ने मौका प्राप्त भएको थियो।

कोइरालाले पनि सरकार चलाएको तीन वर्षमै संसद् विघटन गरेका थिए। ओलीले पनि सरकार बनाएको तीन वर्षमा संसद् विघटन गरेर ताजा जनादेशका निम्ति २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने गरी सिफारिस गरेका छन्। यसैअनुसार राष्ट्रपति भण्डारीबाट घोषणा भएको छ।

कोइरालाको सिफारिस सरकारको नीति तथा कार्यक्रम संसद्मा असफल भएपछि भएको थियो। ओलीको सिफारिस हुनुमा त्यस्तो कारण देखिँदैन। तर ओलीविरुद्ध पृष्ठभूमिका ८३ जना सांसदले विशेष अधिवेशन माग गर्न राष्ट्रपति निवासमा गएको ताजा घटना छ। त्यति मात्र होइन, सोमबार ओली विरोधी खेमाले संसद्को विशेष अधिवेशन आह्वानको माग गर्न सक्ने स्थिति आकलन गरेर ओलीले आफैँ विघटनको पहल गरेको भन्ने पनि छ। यो जानकारी सरकार निकट व्यक्तिहरूले दिएका। यसका निम्ति निवेदन संसद सचिवालयमा पुगेको पनि रहेछ।

यो स्थिति आउनुमा अहिलेको नेकपा नेतृत्व प्रमुखरूपमा कारक छ। पार्टी आन्तरिक लोकतन्त्रलाई सुदृढ नगरेका कारण यस्तो स्थिति पटक–पटक आउने गरेको हो। त्यसो त २००७ सालको परिवर्तनपछि पनि दलहरूको आन्तरिक बेमेल निरन्तर देखिएको हो। त्योबेला पनि दलभित्रैबाट हुने अविश्वास र असहयोगका कारण सरकार बन्ने र बदलिने गरेका थिए। अहिले पनि नेकपाको अवस्था त्यसरी नै सिर्जित भएको हो।

प्रधानमन्त्री ओलीले आन्तरिक व्यवस्थापन गर्न सकेनन्। उनको स्थिति त्यतिबेलासम्म बलियो रह्यो, जतिबेलासम्म उनले अर्का अध्यक्ष पुष्पकमल दाहालको व्यवस्थापन गर्न सके। पार्टी वरिष्ठ नेता माधवकुमार नेपालको हकमा ओलीले बेवास्ता गरेकै थिए। लामो समयसम्म उनी अपमानित भएर पनि चुप लागेर बसेको देखिएको थियो। नेकपाभित्र ‘दुई पाइलट’ सक्रिय भएका बेला उनले गर्न सक्ने कुरा पनि केही थिएन। दुई पाइलटबीचको विवाद चर्किँदै गएपछि स्वाभाविकरूपमा नेपाल जता लागे, त्यतैको भार बढी भएको हो।

वास्तवमा ओलीले नेकपामा अर्का अध्यक्ष प्रचण्डसँगै नेपाललाई पनि समदूरीमा राखेर व्यवहार गरेका भए सायदै अहिलेको स्थिति आउने थियो। लामो समय सँगै काम गरेका नेपालसँग समझदारी कायम गर्दै अगाडि बढ्न सक्दा दाहालका दबाब सामना गर्नसमेत सहज हुने थियो। पार्टीले हासिल गरेको अहिलेको सफलता आफ्नै कारणले मात्र हो भन्ने ओलीलाई लागेको हो। त्यसकारण पनि उनले अरूलाई बेवास्ता गर्न थाले।

प्रायः सफल व्यक्तिहरूलाई अहंले सफलताको चुलीबाट तलतिर तान्छ। तत्कालीन परिस्थितिमा राजा ज्ञानेन्द्रलाई आफू कसैसँग झुक्नुहुँदैन भन्ने लागेको थियो। उनी आफू ‘चकनाचुर’ हुने तर अरूलाई नटेर्ने भएकै कारण राजपाठ गुमाउनुप¥यो। त्यतिबेला ज्ञानेन्द्रले संयमित भई दलहरूलाई काम गर्न दिएका भए अहिलेको परिस्थिति आउने थिएन। जे÷जस्ता असफलता र बिग्रह हुन्थे त्यसको दोषभागी दल नै हुन्थे। उनलाई त्योबेला आफ्ना पुर्खाले आर्जेको मुलुकमा आफूले जे गर्छु ठीक गर्छु भन्ने लाग्नु स्वाभाविक थियो।

अहिले ओलीलाई पनि लागिरहेको कुरा के हो भने यो सम्पूर्ण सफलता उनकै कारणले हासिल भएको हो। उनले पनि अरू कसैसँग झुक्नुपर्ने महसुस गरेनन्। सन्तुलित हिसाबले पनि उनले शासन सञ्चालन गरेनन्। उनको केही निटक व्यक्तिबाहेक जोसुकैसँग आक्रामक किसिमको सम्बन्ध रह्यो। उनको सम्बन्ध खराब हुनेमा आफ्नै दलका नेता मात्र होइन, अन्य पेसागत व्यक्तिहरूसमेत छन्। यो स्थितिमा उनी एक्लैले मुलुकलाई निर्वाचनतर्फ धकेलेका छन्। उनी आफू पनि ‘चकनाचुर’ हुन तयार भएका छन्।

तत्कालको परिस्थिति हेर्दा मुलुक सहजै निर्वाचनतर्फ जान सक्ने देखिएको छैन। सत्तारुढ नेकपा एक ठाउँमा छैन। त्यति मात्र होइन, कोरोना संक्रमणका कारण आमनागरिक थकित भएका बेला फेरि निर्वाचन आवश्यक हो भन्ने कसैलाई लागेको छैन। उनको यो कदमका कारण आउन सक्ने वाधा, विरोध र संघर्षको रापताप थाम्न सक्ने अवस्थामा ओली हुने छैनन्।

हिजोसम्म पार्टी एकता कसरी जोगाउने भन्ने चिन्ता विष्णु पौडेल जस्ता यसभित्रका नेता तथा कार्यकर्तालाई थियो। अब भने राजनीतिक अस्तव्यस्त अवस्थामा तिनले आफूलाई कहाँ उभ्याउने हुन् ? स्थिति थप जटिल बनेको छ। यसले मुलुकलाई अस्थिरता उन्मुख गराएको छ। अब पार्टी एकता होइन यसको अस्तित्वमै प्रश्न उठेको छ।

नागरिक, ६ पुस २०७७ ०९:२९ सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *