चुम्बा चिन्तन

प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्। आफ्ना बाबुको जन्मदेश आएका डेभिड ताप्लेजुङका भीरपहराजस्तै निश्छल मानिसलाई भेटेर अति पुलकित भए।

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा एउटा यस्तो मान्छेलाई भेट्न मन लागिरहेको थियो, जो आफैँमा अद्वितीय होस्। जीवन र जगत्लाई बुझ्न उसका सामान्य बुझाइ भए पुग्छ। जोसँग कुरा गरेर सिंगै वर्षभरि मात्र होइन, जिन्दगीकै आयाम बुझ्न मद्दत पुग्छ।

भयो पनि त्यस्तै। चैत मसान्ततिर अनायासै सन्देश प्राप्त भयो र तत्कालै फोनमा कुरा भयो।

‘ब्रदर नमस्कार,’ उताबाट सुपरिचित आवाज आयो।

‘चुम्बा ब्रदर, तपाईं काठमाडौंमा ?’ मैले आश्चर्य

मान्दै सोधेँ।

‘म हिजो मात्रै काठमाडौं आएँ।’

चुम्बा लामा मलाई योगाभ्यासका क्रममा आउने भावनाका उत्ताल तरंगजस्ता लाग्छन्। यिनी कहिले काठमाडौं आइपुग्छन्, कहिले गाउँ पुग्छन् र फर्किन्छन् आफ्नै मुलुक जर्मनीतिर।

बाह्रै महिना चुम्बा लामाका यात्रा योजना हुन्छन्। यिनी कहिले मंगोलिया पुग्छन् त कहिले म्यानहटन अमेरिका। संसारका अनेकन धनी मानिस चिनेका छन्। धन छ, तर आनन्द नभएका धेरै मानिस उनलाई देखेर आश्चर्यमा पर्छन्।
‘हामी यति धेरै धनी भएर पनि सुखी छैनौँ, तपाईं कसरी यति सुखी हुन सक्नुहुन्छ ?’ उनलाई भेट्ने धनी मानिसले सोध्छन्। पहाडको कन्दराबाट झरेको कञ्चन झरनाजस्ता चुम्बाका शब्द बिस्तारै ओठबाट टप्किन थाल्छन्। प्रत्येक शब्दमा चुम्बा आनन्द फैलाउँछन्। प्रत्येक श्वासमा उनी सुख देख्छन्। सुख अनुभव गराउँछन्।

चुम्बा न कुनै महान् रिम्पोछे हुन्, न कुनै ठूला योग गुरु। तर, चुम्बामा जे छ, त्यो अरूमा छैन। कोही प्रवचन मात्रै गर्ने गुरु छन्। कोही योग र ध्यान मात्रै गर्ने गुरु छन्। चुम्बा चुपचाप काम गरिरहन्छन्। देशदेशावर गएर योग र ध्यान सिकाउँछन्। त्यही क्रममा जम्मा भएको रकममध्ये केही आफ्नो मातृभूमि नेपालका गाउँमा खानेपानी र अन्य सानातिना विकासका काममा खर्च गर्छन्।

चुम्बालाई मैले केही वर्षअघि राजधानी काठमाडौंमा भेटेको थिएँ। उनी त्यो बेला भर्खर गोर्खाको चुम भ्यालीस्थित आफ्नो गाउँ गएर आएका थिए। ३० वर्षपछि उनी आफ्नी आमा चाङ पाल्मोलाई भेट्न त्यहाँ पुगेका थिए। त्यतिका वर्षपछि आमा भेट्न जाँदाको कथा उस्तै रोचक छ। आमाले उनको स्वर सुनेकै भरमा त्योबेला तिब्बती भाषामा भनेकी थिइन्, ‘तिमी आउँछौँ भन्ने मलाई लागेको थियो, छोरा।’

भाग्यको लहरमा लहरिँदै चुम्बा यतिबेला जर्मनीमा बस्छन्। त्यहीँ उनकी प्रिय पत्नी र सन्तान छन्। उत्तरी गोर्खाको छेकम्पारका यी चुम्बा लामा सात वर्षको उमेरमा भारतीय सेनामा काम गर्ने मामासँग भाग्य खोज्न गाउँबाट हिँडेका थिए। त्यसपछि आमाको मुख देख्न उनले तीन दशक कुर्नुप¥यो।

चुम्बा लामाको जीवन आफैँमा एउटा कथाजस्तो छ। यिनकी आमा १३ वर्षको उमेरमा खम्पा विद्रोहीबाट बलात्कृत भइन्। यस्तो अवस्थामा यिनी जन्मिए। आमा माइतीबाट निकालिइन्। छोरालाई पिँठ्युमै बोकेर हुर्काइन्, अर्काको खेतबारीमा काम गर्दै।

कैयन् दिनको हिँडाइ र यात्रापछि काठमाडौं आइपुगेका सात वर्षका चुम्बाको जीवन त्यतिबेला झन् संकटमा प¥यो, जतिबेला उनलाई लिएर आएका मामाको मृत्यु भयो। न फर्केर गाउँ जान सक्छन्, न यहाँ कुनै थातथलो छ। यहाँ उनले कुकुरसँगै गुडुल्किएर सडकमा जीवन बिताए। यिनलाई कसोकसो सहयोग गर्नेहरू निस्किए। यिनले योग, ध्यान र उपचार विधि सिके। यही सीपले यिनलाई जर्मनी पुर्‍यायो। जर्मन महिला उटे रिडलिङ्गरले यिनलाई अपनाइन्। बस चुम्बाको जीवन बदलियो। उनका बारेमा त्यहाँ पुस्तक पनि लेखिएका छन्।

आमा बितेको पनि केही वर्ष भइसकेको छ। तर, उनले नेपाल आमालाई बिर्सेका छैनन्। यहाँका नेता, सांसद, मन्त्री, गैरसरकारी संस्था, कूटनीतिक व्यक्ति कसैलाई पनि नदुखेको नेपाल चुम्बालाई दुख्ने गर्छ। यहाँ कसैले ध्यान नदिएका ठाउँमा पुगेर उनी कहिले खानेपानीको काम गर्छन्, कहिले सोलार सिस्टमको व्यवस्था गर्न गाउँ पुग्छन्।

जसको जन्ममा समेत पीडा जोडिएको छ, जसले हिजो यहाँ सुखले बस्न पाएन, जसलाई यहाँ कुनै राजनीति गर्नु छैन र जसलाई यहाँ कुनै समाचार वा केहीमा आउनु पनि छैन, ऊ निरन्तर यहीँको मायाले आइरहन्छ। खासमा चुम्बा समस्यामा परेका व्यक्तिलाई आफूखुसी सहयोग गर्ने व्यक्ति हुन्। यिनले दुःख पाएका मानिसलाई परैबाट चिन्छन्। तिनलाई निस्वार्थ सहयोग गर्छन्। कसैलाई पढाइदिएका छन्, कसैका घर भाडा तिरिदिएका छन्।

यिनको सहयोग जसले महसुस गरेका छन्, तिनलाई लाग्छ, सायद भगवान्को चालढाल र अनुहार यस्तै खालको केही हुनुपर्छ। जसले समस्यामा परेका व्यक्तिलाई चिन्छ र सहयोग गर्छ। चुम्बाले जहिल्यै मलाई भेट्ने बेलामा भन्ने गर्छन्, ‘कोही नहुनेको कोही हुन्छ।’

सायद चुम्बा यही कोही नहुनेको सहारा बन्न कोसिस गरिरहेका छन्। यसपालि उनी भर्खरै ताप्लेजुङको मिक्वाखोलामा खानेपानी आयोजना सम्पन्न गरेर काठमाडौं आएका थिए। खासमा उनी यो गाउँ जाने भनेर हिँडेकै थिएनन्। नजिकैको अर्को गाउँमा खानेपानी पुर्‍याउन भनेर उनी पुगेका थिए। त्यहाँ केही मानिसले ‘यहाँ सरकारले आफैँ पानी ल्याउँछ, पर्दैन’ भनेपछि गाउँ छाडेर फर्किंदै थिए, केही वर आएपछि एकजना मानिससँग उनको भेट भयो। पूर्वी पहाडतिरको चलनै छ, कोही नयाँ मानिस देखे सोधीखोजी गर्ने। चुम्बालाई पनि ती मानिसले सोधे। चुम्बाले आफू आउनुको प्रयोजन बताए। ती मानिसले उनलाई आफ्नो गाउँ जान आग्रह गरे। उनी पछि लागेर त्यतै गए। त्यहाँ नभन्दै पहिले गएको गाउँभन्दा पनि कठिन स्थिति थियो।

चुम्बा त्यही खानेपानीको काम गर्न तयार भए। मानिसहरू आश्चर्यमा थिए। कुनै सर्वेक्षण छैन, कुनै तामझाम पनि छैन। यसरी कसरी पानी आउला र ? मानिसहरूले प्रश्न गरिरहेका थिए। उनले सामान ल्याउन थाले। स्थानीय पनि हातमा हात मिलाउन आए। बस, गाउँमा पानी आयो।

‘मैले पैसा पैँचो दिने भन्ने सुनेको थिएँ,’ चुम्बा भन्छन्, ‘त्यहाँ त पानी पो पैँचो दिने रहेछ।’

अझ उनी जापानी हाइकु शैलीमा थप्छन्, ‘जहाँ झरना छ, तर खानेपानी छैन।’

हो, पानी पनि पैँचो दिनुपर्ने त्यो गाउँमा पानी आएपछि स्थानीयले उनलाई अनौठो माने। त्यहाँको फुङफुङे आधारभूत स्कुल र तेम्बा तुम्बायोक खानेपानी समूहले समेत उनलाई आयोजना सम्पन्न गरेकामा धन्यवाद दिएर प्रमाणपत्र दिएका छन्।

मिक्वाखोला–४ का विजयप्रकाश लिम्बुले चुम्बाको कामबाट ओतप्रोत हुँदै हातैले लेखेको पत्रमा भनेका छन्, ‘तपाईंलाई यो गाउँको भगवान् सम्झेर मात्र पुग्दैन…। हामीले कहिल्यै बिर्सन नसक्ने काम भएको छ।’

८० घरलाई खानेपानीको व्यवस्था गर्दा चुम्बाले करिब १८ लाख रूपैयाँ खर्च गरेका छन्। यस्ता काम उनी ठाउँ–ठाउँमा गएर गरिरहेका हुन्छन्। उनी इच्छा गरिरहन्छन्, त्यसका निम्ति स्रोत जुटिरहन्छ।

चुम्बालाई आफूले काम गरेका ठाउँको नाम समेत राम्रो थाहा छैन। तर, यिनी खुरुखुरु काम गर्छन् र त्यो गाउँ छाड्छन्। उनले गोर्खाकै गाउँमा पहिले स्याटलाइट टेलिफोनको व्यवस्था गरेका छन्। स्कुल भवन र शिक्षकको व्यवस्था गरेका छन्। दोलखाको एउटा गाउँमा पुगेर पनि उनले खानेपानीको काम गरेका थिए।

‘चुम्बा, अहिलेसम्म तपाईंले यस्ता कामका निम्ति कति खर्च गर्नुभयो ?’

उनी एक छिन गम्छन्। कुनै अनौठो नमानी भन्छन्, ‘तीन करोड रूपैयाँ जति।’

यतिका रकम खर्च गरेपछि कतिपय व्यक्ति र संस्थाले आर्जन गर्ने प्रचार निकै ठूलो हुन्छ। अहिले पनि उनको अन्तर्वार्ता गर्न र काम गरेको भिडियो खिच्न खोज्नेको कमी छैन। तर, उनलाई यस्ता कुराको खासै अर्थ छैन।

उनी भन्छन्, ‘मैले यसरी काम गर्दा मेरी आमा खुसी भएको जस्तो लाग्छ।’

प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फर्किसकेका छन्। आफ्ना बाबुको जन्मदेश आएका डेभिड ताप्लेजुङका भीरपहराजस्तै निश्छल मानिसलाई भेटेर अति पुलकित भए।

डेभिडलाई अर्को एउटा अनुभव पनि भयो। त्यहाँकै एक स्थानीय किशोर, जसलाई निकै दुःख थियो, बाबु चुम्बाले एक लाख रूपैयाँ दिन भने। त्यो पैसा पाउँदा ती किशोर एकछिन अचम्मैमा परे। कतै यो सिनेमामा देखाइने कागजको मुठा त होइन ? तर, त्यो पैसा नै थियो। गाउँका ती किशोरले एकैपटक कहिल्यै नदेखेको रकम। यस्तै अनौठो सहयोगले यो दुनियाँमा अझै सहयोगी हृदय बाँचेकै छन् भन्ने पुष्टि गर्छ।

‘मैले ४० देशको भ्रमण गरेँ,’ चुम्बा आफूले भेटेका मानिस र तिनका सुखदुःखबारे चर्चा गर्छन्, ‘पैसा धेरै भएपछि संसार साँघुरो हुँदै आउँछ। संसार साँघुरो भयो भने त्यो दिक्क लाग्दो हुन्छ।’

चुम्बा दार्शनिकजस्तै बोल्दै जान्छन्, ‘यथार्थमा यो उनको हृदय बोलेको हो, त्यसमा कुनै छलकपट छैन। ‘जोसँग धेरै सम्पत्ति छैन, तिनको संसार फराकिलो हुन्छ।’

यिनले सबैभन्दा धेरै सम्झिने र सम्मान गर्ने भनेको आमाबाबुलाई नै हो। उनी प्रत्येक मानिसलाई भनिरहेका हुन्छन्, ‘हाम्रा भगवान् हाम्रै छेउमा छन्, ती भनेका आमाबाबु हुन्, तिनलाई हामीले प्यार दिनुपर्छ।’

ध्यान र भगवान्लाई कसरी जोड्छन् उनी ? ‘ध्यान र आमाबाबु एकै हुन्। ध्यान किन गाह्रो छ भने त्यो एकदमै सजिलो छ। भगवान् खोज्न पनि सजिलो छ, तर पाउँदैनौँ। हामी अन्यत्र खोजेर हिँड्छौं ती आफ्नै घरमा हुन्छन्। आफूलाई ध्यान दिए ध्यान हुन्छ, बाबुआमालाई भेटे भगवान् भेटिन्छ।’

अघिल्लोपटक उनी दोलखामा खानेपानी आयोजना पूरा गरेर फर्केका थिए। उनी त्यो बेला एक महिनाजति गाउँ बसे। उनले गाउँबाटै फोन गरेका हुनाले मैले सोधेँ, ‘तपाईं यो बेला कहाँ हुनुहुन्छ ?’

उनले गाउँको नाम भन्न सकेनन्। उनले वरपरका मानिसलाई गाउँको नाम सोधेको फोनमा सुनिएको थियो। उनले अर्का मानिसलाई फोन दिए। ती मानिससँग कुरा गरेपछि थाहा भयो, चुम्बा पुगेछन् दोलखा। दोलखाको तामाकोशी गाउँपालिका–७, हावा हेङथालीमा उनी थिए। पानीको साह्रै दुःख रहेको यो गाउँलाई उनले पानीको प्रबन्ध गरे।

यी यस्ता निस्वार्थ समाजसेवी हुन्, जसलाई कुनै ठाउँमा समस्या परेको थाहा भयो भने सजिलै त्यहाँ पुग्छन्। सेवा गर्छन् र फर्कन्छन्। एउटा हातले दिएको अर्को हातले चाल नपाओस् भन्नेजस्तो छ उनको बानी।

सडकमा फेला परेका कैयन्लाई उनले पुनस्र्थापन गरेका छन्। कैयन्लाई पढाइरहेका छन्। केही मेडिकल डाक्टर बन्न लागेका छन्। २०७२ वैशाख १२ को भूकम्पका बेला उनी विदेशमै थिए, खबर सुन्नेबित्तिकै नेपाल आए। त्यो बेला उनले गाउँमा बाँड्न भनेर तीन हजार ६ सय २० थान प्रेसर कुकर र यसका निम्ति चाहिने अन्य सेट सामग्री ट्रकमा राखेर गाउँमा पुर्‍याएका थिए। बालाजु र गोर्खा बजारका सबै कुकर किनेर गाउँमा लगेको क्षण उनका निम्ति अहिले पनि रोचक छ।

त्यत्तिका प्रेसर कुकर लिएर हिँडेको देखेपछि सुरक्षाकर्मीले केरकार गरे छन्, ‘बम बनाउने त होइन ?’

‘कुकरबाट बम बनाइन्छ भन्ने मलाई थाहा थिएन,’ उनी सम्झन्छन्, ‘मैले गाउँमा लगिदिने भनेपछि उनीहरूले छाडिदिए।’

चुम्बा लामाका अनेकन् विशेषता छन्। यिनी मानिसको ढाड वा गर्धन दुखेको वा अन्य कुनै समस्याको समाधान उपचारबाट निकाल्छन्। यसका साथै उनी समूहमा योग सिकाउँछन्। जहाँ पुग्छन्, उनलाई योग प्रशिक्षणले फुर्सद हुँदैन। यसै सिलसिलामा उनले संसारका अनेकन् धनी मानिस चिनेका छन्। तिनले चुम्बालाई कति पैसा चाहिन्छ भनेर सोधिरहेका हुन्छन्। उनी आफूलाई नचाहिने बताउँछन्।

एकजना धनी रसियाली व्यापारीले उनलाई खाता नम्बर मागेका रहेछन्। उनले अहिले पैसा नचाहिने बताएपछि ती व्यापारीले भनेछन्, ‘तिमी अझै लामा नै रहेछौँ। पैसा चाहिन्छ लेऊ।’ ‘मलाई खानलाउन पुगिरहेकै छ,’ उनी प्रायः जवाफ दिने गर्छन्, ‘सक्छौं भने आफ्नै छेउमा रहेका असहायलाई सहयोग गर।’

कोरोना महामारी चम्किएका बेला फेरि तिनै व्यापारीले उनलाई खाता नम्बर पठाउन भने। उनले यसपटक पठाइदिए। बैंकमा १२ हजार युरो आएछ। बैंकले उनलाई यो पैसा पठाउने व्यक्ति र प्रयोजन सोध्यो। पठाउनेले लेखेको थियो, ‘स्वर्गबाट मित्रवत उपहार।’

चुम्बाले साथीको परिचय दिन नमिल्ने भए पनि यथार्थ विवरण दिए। बैंकको कर्मचारीले उनीसँग ठट्टा गर्दै भनेछन्, ‘हामीलाई पनि यस्तो साथी मिलाइदेऊ।’

चुम्बासँग लामो कुराकानीपछि फेरि मैले उनको आगामी यात्राबारे सोधेँ। उनको आगामी यात्रामा लामो सूची थियो। तर, त्योभन्दा पहिले त्रिशूलीको एउटा गुफामा गएर ध्यान गर्ने इच्छा भएको उनले बताए। आफ्नो काम सकेपछि चुम्बा प्रायः अनकन्टार गुफा वा प्रकृतिको काखमा ध्यानमग्न हुने गर्छन्।

नागरिक, ४ वैशाख २०७८ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *