गुगल ट्रान्सलेटमा नेपाल भाषा

गुगल ट्रान्सलेटमा गएर तोकिएका केही भाषामा लेख्दा त्यसको तत्काल अनुवाद पाउन सकिन्छ। यो लेख लेख्नुअघि मैले लेखेँ, ‘धेरैलाई लाग्न सक्छ, स्थिति ठीक छैन। तैपनि स्थिति सुधार गर्न सकिन्छ कि ?’ तत्काल यसको अंग्रेजीमा अनुवाद भइहाल्छ, ‘मेनी मे थिंक द्याट द सिचुएसन इज नट राइट। क्यान द सिचुएसन स्टिल बी इम्प्रुभ्ड।’

गुगल ट्रान्सलेटले भाषा अनुवाद मात्र गर्दैन, त्यसलाई पढेर पनि सुनाउँछ। यसले उच्चारण कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ। अहिले संसारका सय भाषामा यो सेवा उपलब्ध छ। कुनै बेला गुगलले गरेको अनुवादका निम्ति ठट्टा समेत हुन्थ्यो। तर, बिस्तारै यसले भाषाको शुद्धता र यथार्थ अनुवाद गर्न सक्ने भइसकेको छ।

भाषा अनुवादको शृंखलामा अब नेपाल भाषा पनि जोडिने भएको छ। गुगलमै काम गरिरहेका इन्जिनियरिङ विभाग प्रमुख उज्ज्वल राजभण्डारीले नागरिकसँग भने, ‘नेपाली पूर्ण सेवा सुरु भइसकेको छ, अब नेपाल भाषालाई पनि यसरी नै अनुवाद गर्न सकिने बनाउन हामी काम गरिरहेका छौँ।’

काठमाडौं उपत्यकाका रैथाने उज्ज्वल अमेरिकामै पढेर त्यहीँ बसोबास गरेका व्यक्ति हुन्। उनले सिकेको सीप नेपाल भाषाका निम्ति पनि उपयोगी हुन लागेको हो। कुनै पनि भाषा अनुवाद गर्न सकिने बनाउन लामो प्रक्रिया पार गर्नुपर्छ। सुरुमा एउटा भाषाको म्यानुअल बनाइसकेपछि बहुभाषामा त्यो मोडल उपयोगी बनाउने गरी काम गर्नुपर्छ।

राजभण्डारीका अनुसार नेपाल भाषाका निम्ति पनि पाँच हजार जति मोडल बनिसकेका छन्। यसलाई १० हजार पु¥याएपछि काम पूरा हुन्छ। यसलाई पूर्णता दिन भने समुदायले योगदान गर्नुपर्छ। ‘हामीले नेपाल भाषामा काम सुरु गरेको ५–६ महिना भएको छ,’ उनले भने, ‘गत मार्च १७ देखि कम्युनिटी ट्रान्सलेसन बन्दै छ।’

गुगलले आफ्ना विभिन्न सेवाहरू सर्च, म्याप, युट्युब आदिबाट विश्वलाई प्रदान गर्दै आएको छ। उसले अरूलाई दिएको सेवाकै आधारमा आज संसारको ठूलो ‘टेक जायन्ट’का रूपमा चिनिन सफल भइसकेको छ। यसका सेवा उपयोग गर्नेहरू अर्बमा हुन्छन्। त्यसैले यसलाई ठूलो बनाइरहेको छ।

भाषाको क्षेत्रमा पनि गुगलले काम थाल्नु पछाडिको उद्देश्य तथ्यांक संरक्षण नै हो। यसले भाषालाई संरक्षण गर्दै लोप हुनबाट जोगाउँछ। अहिले संसारमा करिब ६ हजार पाँच सय भाषा छन् भन्ने मानिन्छ। तर, प्रयोग हुन छाडेका कारण प्रत्येक दिनजसो भाषा लोप हुँदै गइरहेको छ।

गुगलले भने सुरुमा थोरै भाषाबाट काम थालेको हो। अहिले सय भाषा तयार भइसकेका छन्। तर, यसले अहिले एक हजार भाषामा काम गरिरहेको छ। कुनै एउटा भाषाका मोडल तयार भएपछि अन्य भाषालाई पनि त्यसबाट काम गर्न सजिलो हुन्छ। यस्तो काम अरू सबैले गर्न सक्दैनन्। यस्तो काम गर्न गुगलजस्ता कम्पनी र यसका क्रियाशील सदस्यबाट सम्भव हुन्छ।

‘यो पनि तथ्य तथ्यांककै इन्जिनियरिङ हो,’ उज्ज्वल भन्छन्, ‘सबै तथ्यांकलाई एकीकृत र व्यवस्थित गरी आम मानिसलाई पहुँच दिने गुगलको उद्देश्य हो। यसको उद्देश्य भाषा नजानेर बाधा हुन नदिने पनि हो।’

गुगलले सन् १९८७ बाट भाषासम्बन्धी सेवा सुरु गरेको हो। सुरुका ६÷७ वर्ष ४÷५ वटा भाषाको मात्र काम भएको थियो। उज्ज्वलका अनुसार अहिले यो सेवा अनायासै बढेको छ। भाषा अनुवादमा जति धेरै तथ्यांक भयो, त्यति नै त्यसले राम्रो परिणाम दिन्छ।

गुगलले एकातिर, भाषादेखि दैनिक जीवनका अत्यावश्यक जानकारी दिएर सेवा गरिरहेको छ भने अर्कोतिर यसले आफ्नो नयाँ परियोजना गुगलएक्समार्फत प्रविधिका नयाँ समाधान खोजिरहेको छ। यसले स्वचालित कार, स्वास्थ्योपचार र लाइफ साइन्समा आफूलाई लगाइरहेको छ। ‘यसको उद्देश्य ठूला समस्याको पहिचान गरेर समाधान गर्ने हो,’ उज्ज्वल भन्छन्।

यतिबेला फेक न्युजको पनि उत्तिकै चर्चा भइरहेको छ। गुगलले यसको पनि मोडल बनाउँदै छ। त्यसपछि सजिलै मानिसले के सही र के गलत हो भनी थाहा पाउन सक्छन्। अहिले धेरै प्रयोग र सेयरिङ भएका आधारमा फेक न्युजले समेत सही समाचारजस्तो स्थान पाएको देखिन्छ।

उज्ज्वलका अनुसार यो वर्ष सन् २०२१ को अन्त्यसम्म नेपाल भाषाको अनुवाद गर्ने फिचर तयार भइसक्छ। उनी भन्छन्, ‘यसमा अब समुदायको योगदान हुनुपर्छ।’

नागरिक, १८ वैशाख २०७८ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *