भेरीमा नर्स कुटिँदा वाग्मतीमा दुख्छ

सात वर्षकी काजोल खातुनलाई बसमा ज्युँदै जलाएका बेला आफ्नै छोरीको सम्झनाले मन बेस्सरी हल्लिएको थियो त्यो बेला। कोभिड वार्डमा उपचार गराइरहेका नर्स र अन्य चिकित्साकर्मीमाथि भेरी अस्पतालमा आक्रमण भएपछि मेरो मन फेरि उस्तै गरी डराइरहेको छ यतिबेला।

काजोलका चित्कार आफ्नी सात वर्षे छोरीको आवाज बनेर त्यो बेला मेरो कानमा आएका थिए। बसभित्र ज्युँदै जलाइएकी ती छोरीको चित्कार सुनेर म कैयन् दिन सुत्न सकेको थिइनँ। भेरी अस्पतालमा बिहीबार राति कोरोना उपचारका निम्ति खटिएका नर्सहरूमाथि भएको आक्रमण मेरै छोरीमाथि आएको आपत् जस्तो भइरह्यो। त्यो समाचार सुनेदेखि मन छट्पटाइरह्यो।

ती मानिस जसले आफ्नो दाइको निधन हुँदा सहन नसकेर रातभरि सेवामा खटिएका चिकित्साकर्मीमाथि आक्रमण गरे, उनीप्रति मेरो सहानुभूति छ। तर कुनै पनि चिकित्साकर्मीले उपचारमा आएका व्यक्तिहरूको मृत्युमा उत्सव मनाउँदैनन्। उनीहरू पनि त्यतिकै चिन्तित हुन्छन्। त्यतिकै दुःखी हुन्छन्।

उनीहरू भनिरहेका छन्– हामी भगवान होइनौँ। हामी बिरामी बचाउन कोसिस गर्छौंँ। अस्पताल जाने सबै बाँच्दैनन्। तर जति बाँचेर आएका छन्, तिनले अस्पतालका डाक्टर–नर्सलाई भगवान भनेका छन्। त्यसमा पनि यो कोरोना संक्रमण कालका ज्युँदा भगवान अस्पतालमा बस्छन्। तिनले घन्टौँ घन्टा पिपिइ लगाएर भोक/प्यास नभनी काम गरेका अनेकन दृष्टान्त सार्वजनिक भइसकेका छन्।

मेरी नर्स छोरी उपचारकै क्रममा आँखैअगाडि एक मानिसको जीवन गएको देखेर कति धेरै चिन्तित थिइन्। उनी घरमा आएर पनि धेरैबेर थक्थकाइरहिन्। तिनलाई बचाउन पाएको भए.., उनका आँखामा ती बितेका मानिसप्रतिको अथाह सम्झना मैले देखेको थिएँ। यो प्रत्येक नर्स छोरीमा आउने स्वाभाविक प्रतिक्रिया हो। तिनका मखमली भावना बिरामीका प्रति हुन्छन्। त्यसै कारण ती सेवामा अहोरात्र खट्छन्।

किन सबै जना नर्स बन्छु भन्ने सोच्दैनन् ? तर जो नर्स बन्छु भन्ने सोच्छन्, तिनका मनमा सेवाभाव अवश्यै हुन्छ। त्यसै कारण ती त्यही विषय पढ्छन्। चार वर्षसम्म ती कलेज जान्छन्। त्यहीबीच तिनले अभ्यास गर्छन्। विद्यार्थीकालमै पनि तिनीहरू पूरै सेवामा खटिन्छन्। एक हिसाबले उनीहरू आफूलाई सेवाप्रति समर्पित तुल्याउन अभ्यस्त हुन्छन्। जो सेवाकै निम्ति छन्, तिनीमाथि आक्रमण गर्ने मण्डले प्रवृत्ति अहिले जहाँसुकै देखिन्छ।

मानिस आफ्ना छोरीलाई किन नर्स बनाउन पठाउँछन् ? म अचेल आफैँलाई यो प्रश्न गर्छु। समाज सेवा पढ्न गएकी छोरीले अचानक एक साँझ आएर होइन म नर्सिङ पढ्न जान्छु भन्दा मैले कुनै अर्थ बुझेको थिइन्। नर्सिङ पढेका छोरीको दुःखको आयतन मलाई थाहा थिएन्। अहिले बुझेपछि भन्छु– सकेसम्म छोरीलाई नर्स नबनाउनू। किनभने तिनले जति दुःख गरेर पढ्छन्, त्यति प्रतिफल पाउँदैनन्। न तिनलाई हाम्रो राज्य संयन्त्रले संरक्षण गरेको छ न त सम्बन्धित स्वास्थ्य संस्थाले।

भेरी अस्पतालमा कार्यरत नर्सहरूले पहिल्यै भनेका रहेछन्, बिरामीका आफन्त निकै आक्रामक छन्, हामीलाई सुरक्षा दिइयोस्। अहिलेको सत्तारुढ एमालेसँग निकट र लुम्बिनी प्रदेश सरकार प्रमुख शंकर पोखरेलसँग निकट आक्रमणकारी लोकबहादुर रावत, भरत रावतलगायतले सुरुदेखि नै स्वास्थ्यकर्मीहरूलाई धम्क्याउँदै तिमीहरूको जागिर खान्छु, तिम्रो लाइसेन्स खारेज गराउँछु भनेका रहेछन्। कस्तो दम्भ हो– जता पनि आक्रमण गर्ने ? हो, यसैलाई भनिन्छ मण्डले प्रवृत्ति।

काजोलका चित्कार आफ्नी सात वर्षे छोरीको आवाज बनेर त्यो बेला मेरो कानमा आएका थिए। बसभित्र ज्युँदै जलाइएकी ती छोरीको चित्कार सुनेर म कैयन् दिन सुत्न सकेको थिइनँ। भेरी अस्पतालमा बिहीबार राति कोरोना उपचारका निम्ति खटिएका नर्सहरूमाथि भएको आक्रमण मेरै छोरीमाथि आएको आपत् जस्तो भइरह्यो। त्यो समाचार सुनेदेखि मन छट्पटाइरह्यो।

यो घटनापछि फेरि आफैँतिर फर्कन्छु। छोरीको नर्सिङ पढ्ने इच्छासँगै अनेकन दुःख थपिएर आए। एक, नर्सिङ कलेजमा भर्ना भएपछि जाँच दिने बेलामा उनीहरूको प्रवेशपत्र नआएपछि रोएको मैले अहिलेसम्म बिर्सन सकेको छैन। रुने मेरी छोरीमात्र होइन, उनका अरू साथी पनि थिए। त्यो बेला हामी सबै परिवार सदस्यले तिनलाई आश्वस्त पारेका थियौँ। हामीले सकेसम्म प्रयास गरेका थियौँ। तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले समेत यसमा पहल गरेका थिए। बल्लतल्ल तिनले जाँच दिए। झण्डै चार वर्षपछि तिनले अध्ययन पूरा गरे। नर्सिङ परिषद्को परीक्षा पास गरे। दुई, फ्लोरेन्स नाइटिंगेल बन्न हिँडेका छोरीहरू बीसौँ लाख रुपियाँ खर्च गरेर उत्तीर्ण भई अस्पतालमा सेवा गर्न थालेपछि पाउने पारिश्रमिक सुनेर म त झण्डै बेहोस हुन पुगेँ।

सरकार मजदूरको न्यूनतम पारिश्रमिक तोकेर राजनीति गर्छ। तर त्यसले एउटा दक्ष जनशक्तिका निम्ति कति पारिश्रमिक छ भनेर वास्ता गर्दैन। बेलाबेलामा नर्सहरू आफूलाई पारिश्रमिक कम भएको आवाज उठाउँछन् तर त्यो त्यत्तिकै हराएर जान्छ। अस्पतालमा डाक्टर र नर्सले गर्ने काम हेर्ने हो भने पनि नर्सको काम कुनै अर्थमा कम हुँदैन।

नर्सहरूमाथि हात उठाउनुअघि एक पटक सोधिहेर्नुहोला तिनले मासिक कति पारिश्रमिक पाउँछन् ? धेरैजसोले महिनामा २० हजार रुपियाँ पनि पाउँदैनन्। धेरैजसोको तलब १६/१७ हजार रुपियाँ हुन्छ। राजधानीका महँगा अस्पतालमा उपचारका लागि जाने व्यक्तिहरूलाई यो अनुमान पनि हुँदैन, जतिबेला पनि सेवाका निम्ति खटिएका ती छोरीहरू यति थोरै पैसामा काम गर्छन्। तिनले पाउने रकम बराबर त तपाईंँको घरका भान्छे र भुइँ पुछ्ने सहयोगीले पाइरहेका हुन्छन्। ड्राइभर पनि यति रकममा अचेल पाइँदैनन्। नर्सहरूलाई यसरी ठगिएको छ।

तर तिनको महत्व अझै बुझिएको छैन। त्यसै कारण त राम्रो पारिश्रमिक पाइने ठानेर ती देशै छाडेर बेलायत, अमेरिका, अस्ट्रेलिया वा क्यानडातिर हानिन्छन्। २०७६ वैशाखमा माल्दिभ्स सरकारले १ सय ७६ जना चिकित्सक प्रतिमहिना ३ हजार ८ सय २६ अमेरिकी डलरको प्याकेजसहित विज्ञापन गरेको थियो। त्यसलगत्तकै धेरै जना त्यो कामका निम्ति उडेका थिए। स्वास्थ्य जनशक्ति हामीलाई धेरै भएको छैन। त्यसमा पनि अहिलेको संक्रमणले स्वास्थ्य संरचना बनाउन र सकेसम्म धेरै दक्ष जनशक्तिलाई सेवामा लगाउनुपर्ने रहेछ भन्ने ज्ञान पनि दिएको हुनुपर्ने हो।

कुरा पारिश्रमिक कति आउँछ भन्नेमात्र होइन। कतिपय यस्तो दक्ष जनशक्ति देशभित्रै सेवा गर्न चाहन्छ। ती परिवारसँगै यहीँ बस्न चाहन्छन्। तर मानिसको मन त्यतिबेला भरङ्ग हुन्छ, जतिबेला काममा गएका परिवारका सदस्य कुटिन्छन्। ज्यान जोगाउन छतबाट हाम फालेर भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू चन्द्रप्रकाश साहू, अस्मिनी गुरुङ, सदीक्षा गैरे, वन्दना श्रेष्ठलगायत ज्यान जोगाउनुपरेको खबर सुनेर कुन बाबु/आमाको मन नकाटिएला ? यो त साह्रै अमानवीय काम भयो। यतिबेला यी सबै घाइते छन्। छतबाट हाम फाल्दा ती स्वास्थ्यकर्मी मात्र घाइते भएका छैनन्, हामी सबैका मन पनि घाइते भएका छन्। सत्ताको धम्की दिँदै यस्तो कुकर्म गर्नेहरूमाथि कारबाही होला भन्ने विश्वास अझै छैन।

कोरोना संक्रमणको जगजगी भएका बेला म छोरीलाई अस्पताल पुर्‍याउन जाने गर्थेँ। गत वर्ष मानिस धेरै डराएका थिए तर अस्पतालमा छोरी जानैपर्ने थियो। अस्पतालको गाडी आउने ठाउँसम्म पुर्‍याउने जान्थेँ। एक सातासम्म अस्पतालमै बसेर छोरीले काम गरेका बेला घरमा बस्ने हाम्रो मन साह्रै भारी हुन्थ्यो। पछि कोभिड वार्डमा काम गरे पनि डिउटी सकेर त्यहीँ नुहाइधुवाइ गरेर घरमा अलग्गै बसेर पनि काम भयो। हामी सँगै खाना खान पाउँदैनथ्यौँ।

आँखाअगाडि छोरीलाई देखेर मन आश्वस्त हुन्थ्यो। त्यतिमात्र होइन, ती लामो कार्यघण्टापछि फर्केर आएपछि उठ्नै नसक्ने गरी थाकेर सुतेको देख्दा यो कस्तो काम गरिएछ भन्ने नलाग्ने होइन। यो ठूलो सेवा कार्य हो भनी प्रत्येक पटक छोरीलाई उत्साहित तुल्याएका क्षण म अहिले सम्झिरहेको छु। मेरा एक मित्र छोरीलाई तत्काल राजीनामा गराउन सुझाव दिइरन्थे। तर मैले यस्तो बेलामा सेवा गर्नुको अर्थ भिन्न छ भनिरहेँ।

नर्सिङ सेवामा रहने छोरीहरूको काम बिहान सात बजेदेखि सुरु हुन्छ र राति सात बजेसम्म काम गर्छन्। कोही राति सात बजेदेखि बिहान सात बजेसम्म काम गर्छन्। काम सकेपछि ती यति थाक्छन् कि तिनको संगत नगरी यथार्थ थाहा पाउँदैनन्। अस्पतालको बसबाट ओर्लिएकी छोरीलाई लिन म सडकछेउमै पुग्थेँ। ‘म हिँड्न सक्दिनँ’, छोरीले भन्दा कुन बाबु/आमाको मन काटिँदैन ? यसरी सेवा गर्ने व्यक्तिको सम्मान नगर्ने र आक्रमणमा उत्रने सठदेखि छक्क पर्नुबाहेक अरू के उपाय छ र ? कम्तीमा अरूको ठाउँमा आफूलाई राख्ने व्यक्तिले यस्तो गर्दैन।

नागरिक, १६ जेष्ठ २०७८ आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *